काठमाण्डौ । चाडपर्वका बेला नेपालीको भान्सा महँगिएको छ। 

भर्खरै दसैँ सकिएको र तिहार नजिकिँदै गर्दा नेपालीको भान्सा महँगिएको हो। एकातिहार चाडपर्वको खर्च र अर्कोतिर भान्सामा आवश्यक विभिन्न वस्तुको मूल्य महँगिदा जनता मारमा परेका छन्।

पछिल्लो १ महिनाको तथ्यांक हेर्ने हो भने नेपालीको भान्सामा अत्याधिक प्रयोग हुने सुकेको प्याजको मूल्य ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कात्तिक ४ गते सुकेको प्याज (भारतीय) को प्रतिकेजी औसत ७३.५ रुपैयाँ रहेको छ। जब कि गत असोज ५ गते प्रतिकेजी औसत मूल्य ४७ रुपैयाँमात्रै थियो। यो हिसाबले प्याजको भाउ एकमहिनामै ५६.३८ प्रतिशतले बढेको छ। 

यसैगरी हरियो खुर्सानीको मूल्य पनि प्रतिकेजी औसत ९५ रुपैयाँ रहेको छ। गत असोज ५ गते ७५ रुपैयाँ रहेको थियो। सुकेको खुसार्नीको मूल्य भने ३१० रुपैयाँ प्रतिकेजी रहेको छ। 

हरियो धनियाँको भाउ भने ह्वात्तै घटेको छ। गत असोज ५ गते औसत ३२५ रुपैयाँ प्रतिकेजी रहेको धनियाँको भाउ घटेर १३५ रुपैयाँमा झरेको छ। 

लसुन (चाइनिज) र नेपालीको भाउ पनि बढेको छ। गत असोज ५ गते प्रतिकेजी लसुन (चाइनिज) २३० रुपैयाँ र लसुन (नेपाली) १९० रुपैयाँमा रहेकोमा बढेर क्रमशः २४५ रुपैयाँ र १९५ रुपैयाँ पुगेको छ। 

गोलभेडा (लोकल)को मूल्य पनि १५ रुपैयाँबाट बढेर ३७.५ रुपैयाँ प्रतिकेजी पुगेको छ। गोलभेडा (टनेल) पनि २१.५ रुपैयाँबाट बढेर ४३ रुपैयाँ पुगेको छ।