काठमाण्डौ । देशमा महँगी अझै नियन्त्रण हुन नसकेको देखिन्छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार महँगीले चरम अवस्थामै रहेको देखिन्छ। २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.८ प्रतिशतले वृद्धि भई रु. २८१ अर्ब ५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा चालु खाता रु.३४ अर्ब २८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ। 

यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ।

२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा रु.१२४६ अर्ब २२ करोड पुगेको छ। अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई रु.११०१ अर्ब ६० करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई रु.१४४ अर्ब ६२ करोड रहेको छ। २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ। 

आर्थिक वर्ष २०७९–८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आई रु.४१ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो। 

आर्थिक वर्ष २०७९–८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई रु.४०१ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो।