काठमाण्डौ । नेपालमा मुद्रास्फीति झन्डै सतप्रतिशतले बढेको छ। व्यापार घाटा बढ्दा विदेशी मुद्राको सञ्चिति घटेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो। यो हिसाबले एकै वर्षमै मुद्रास्फीति झन्डै सतप्रतिशतले बढेको छ। 

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुग्यो। यद्यपि आर्थिक वर्ष २०७८/७९ को सुरुआती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रह्यो। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो।

वैदेशिक व्यापार 

आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, ऊनी गलंैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको छ।

समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई रु. १७२० अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२१३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात रु.१९० अर्ब ५४ करोडबराबरको भएको थियो।

विप्रेषण आप्रवाह

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु. १००७ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेकोथियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई रु.१११७ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो।

शोधनान्तर स्थिति

आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु.६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई रु.९ अर्ब ९९ करोड पुगेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई रु.१८ अर्ब ५६ करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ५१ करोड रहेको थियो।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ।

विदेशी विनिमय सञ्चिति

२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई रु.१०५६ अर्ब ३९ करोड कायम भएको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१ करोड पुगेको छ। २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए। 

बाह्य लगानी स्थिति

२०७९ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु.१३३० अर्ब ६५ करोड तथा दायित्व रु.१५८८ अर्ब २७ करोड रहेको छ। फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु. २५७ अर्ब ६२ करोडले घाटामा रहेको छ। २०७८ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.८० अर्ब १२ करोडले बचतमा रहेको थियो।