काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा अघिल्लो वर्षको तुलनामा १५६७.४१ प्रतिशतले छलाङ मारेको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खुद नाफा ८ लाख रुपैयाँमात्र थियो । यस हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड २५ लाख रुपैयाँको छलाङ मार्न सफल भएको हो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३ करोड ८६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष १ करोड ८८ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा १ करोड ३७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १६ लाख रुपैयाँको हाराहारीमा घाटा व्यहोर्नुपरेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड ५ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ३५ लाख ७२ हजार रुपैयाँ थियो। 

यस अवधिमा संस्थाले ५५ करोड ६६ लाख रुपैयाँ सापटी लिई ७७ करोड २४ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा २५ करोड ६३ लाख रुपैयाँ सापटी लिई ३३ करोड ६१ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १२२.९१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ करोड ५८ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर ३ करोड ५५ लाख रुपैयाँ भएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २७.६७ गुणा, प्रतिसेयर नेटवर्थ १४०.१० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१६.५३ रुपैयाँ रहेको छ ।