काठमाण्डौ । धेरै कमलाई मात्र लागेको थियो नेपाल राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारी आउनेछन् । धेरै मानिसको अनुमान र सत्तासीन नेकपाका नेताहरुकै समेत अड्कलविपरीत ५ वर्ष पुरानो सपनालाई सार्थक बनाउँदै महाप्रसाद अधिकारीले नेपाल राष्ट्रबैंकको गभर्नर पदमा बाजी मारेका छन् । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई चैत ५ गतेदेखि रिक्त गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कतिपयलाई उनको नियुक्तिको खबर यसकारण समेत अपेक्षित भएन कि सत्तासीन पार्टीका नेताहरुबीचमा डा. राजन खनालको नाम चर्चामा थियो ।

पार्टीका भातृ संगठन र अर्को तप्कामा भने चिन्तामणि शिवाकोटीलाई गभर्नर बनाउनुपर्ने मत धेरै थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाको रोजाई यसपटक पनि महाप्रसाद अधिकारी नै भए । अन्ततः पार्टीभित्रकै कतिपय सचिवालय नेताको प्रयासलाई समेत पाखा लगाउँदै महाप्रसादले नोटमा हस्ताक्षर गर्ने आफ्नो ५ वर्षअघि टुटेको सपनालाई जोड्ने काम गरे । 

पाँच वर्षअघि पनि गभर्नर सिफारिस हुँदा तीन नाममध्ये एउटा नाम महाप्रसादको पनि थियो । तर, सो बेला डा. चिरञ्जिवी नेपालले बाजी मारेका थिए । 

नेपाल राष्ट्रबैंकमा २१ वर्षसम्म कार्यकारी निर्देशकको रुपमा र ५ वर्ष डेपुटी गभर्नरको रुपमा गरी कुल २६ वर्ष बिताए पनि नोटमा हस्ताक्षर गर्न नपाएको र केन्द्रीय बैंकलाई नेतृत्व दिन नपाएको अधिकारीको सपना अधूरै थियो । जुन अब पूरा भएको छ । अधिकारी आगामी ५ वर्षसम्म गभर्नरको रुपमा रहनेछन् । 

सन्तुलित भूमिका र खतिवडाको साथ
महाप्रसाद अधिकारीले आफ्नो करिअरमा एकपछि अर्को सफलता पाउने कडीको रुपमा खास गरी तीनवटा कुराहरु देखिने उनी निकटस्थहरु बताउँछन् । 

उनको भद्र र शालीन व्यक्तित्व, सन्तुलित भूमिका र हाल अर्थमन्त्री रहेका डा. युवराज खतिवडाको निरन्तरको साथ र विश्वास नै उनको सपना पूरा गराउने कारक रहेका बताइन्छ । 

महाप्रसाद अधिकारी डेपुटी गभर्नरको रुपमा राष्ट्रबैंकमा काम गर्दा डा. खतिवडा गभर्नर थिए । डा. खतिवडाले नै केही कनिष्ठ भए पनि महाप्रसादको क्षमता देखेर डेपुटी गभर्नर बनाएका थिए । 

डेपुटी गभर्नरको रुपमा कार्यकाल सकिएर गभर्नर बन्ने दौडमा असफल भएपछि उनमा देखिएको क्षमताको मूल्याङ्कन गर्दै अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाइयो । यसमा पनि डा. युवराज खतिवडाकै प्रमुख भूमिका रहेको बताइन्छ । कारण, त्यसबेला डा. खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । ओली निकट रहेर काम गरिरहेका खतिवडाको सिफारिसमा सो बेला अधिकारीलाई लगानी बोर्डको नेतृत्व जिम्मा दिइएको थियो । 

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा उनले सफल लगानी सम्मेलनदेखि लिएर थुप्रै विदेशी कम्पनीहरुलाई नेपालमा लगानी गर्ने वातावरण तयार गरेका थिए । लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरे पनि ३० वर्ष लामो अनुभवका कारण उनी पुनः वित्तीय क्षेत्रको महत्वपूर्ण पदमा फर्किन चाहन्थे, जुन चाहना अब पूरा भएको छ । 

उनको सफलता पछाडिको अर्को कारण भनेको भद्र व्यक्तित्व र सन्तुलित भूमिका पनि रहेको उनका निकटस्थहरु बताउँछन् । उनी आफ्नो व्यक्तित्वलाई मेन्टेन गर्न सक्ने, सबैसँग भिज्नसक्ने नरम स्वभावका व्यक्ति हुन् । यसकारण समेत उनी महत्वपूर्ण जिम्मेवारी दिने प्रत्येक समयमा रोजाईमा परिरहेका छन् । 

नेपाल राष्ट्रबैंकमा डेपुटी गभर्नरको रुपमा काम गर्दा होस् या लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदाको अवस्थामा होस्, उनको भूमिका निकै सन्तुलित रहेको उनीसँगै काम गरेका कर्मचारी बताउँछन् । ‘सबैलाई मिलाएर लैजाने क्षमता उहाँसँग छ ।’ लगानी बोर्डका एक अधिकृतले भने–‘उहाँको सफलता पछाडि उहाँ भद्र स्वभावले पनि काम गरेजस्तो लाग्छ ।’ 

अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स(सिए)को कोर्स पूरा गरेका छन् । उनी चाटर्ड एकाउन्टेन्स पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने पहिलो व्यक्ति पनि हुन् ।