काठमाण्डौ । ज्वरोले निस्लोठ भएकी बहिनीलाई नर्भिक अस्पताल दौडाउँदै गर्दा मंगलबार साँझ रत्नपार्कमा रोकिएका उपेन्द्र महर्जन नेपालका नेताहरुको ताल देख्दा हैरानी व्यक्त गरिरहेका थिए । सेना दिवसको अवसर पारेर नेपाली सेनाले भद्रकालीमा आयोजना गरेको विशेष कार्यक्रम(रात्रि भोज)मा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री आउने भएपछि राजा महाराजालाई जस्तै रोड खालि गराएर सर्वसाधारणलाई ट्राफिकले ठाउँ ठाउँमा रोकेपछि उपेन्द्र आफूले पाएको सास्तीको विषयमा दिक्दारी पोख्दै थिए । उनी भन्दै थिए–‘राजा महाराजाको पालामा जस्तै भीआइपीहरुको आगमन हुँदा हाम्रा बिरामीले समयमा अस्पताल पुग्न बञ्चित हुनुपर्ने ? हामीले खोजेको लोकतन्त्र यस्तै थियो त ? फेरि यी नेताहरुले जनताको बीचबाट हिड्ँदा किन असुरक्षित महसुस गरेका होलान् ?’ उनको भनाईमा सहमत जनाएर कुरा सुन्दै जाममा अड्किएका अन्य सर्वसाधारणले समेत समर्थनमा आफ्ना सवारी साधनको हर्न एकसाथ बजाइदिए । 
 

ट्राफिक प्रहरीले चाहि आफ्नो रवाफ देखाउँदै हर्न बजाउनेहरुलाई झपार्दै भन्यो–‘को हो हर्न बजाउने ? किन बजाएको हर्न ? काम छैन ?’ रत्नपार्कतर्फ जाममा परेका सर्वसाधारणहरु टाफिक प्रहरीको रुखो व्यवहार र शैलीले थप आक्रोशित देखिन्थे । 
 

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आगमन हुने कार्यक्रम भएपछि साँझको बेलामा घर तथा अन्य विभिन्न गन्तव्य पुग्ने हतारोमा रहेका हजारौ सर्वसाधारणलाई ठाउँ ठाउँमा रोकेर बाटो क्लियर गरिएको थियो । राष्ट्रपतिको शितल निवासदेखि भद्रकालीसम्मको(महाराजगञ्ज हुँदै जमल, घण्टाघर र भद्रकाली)बाटो क्लियर गर्ने नाममा ठाउँ ठाउँमा सर्वसाधारणलाई आधा घण्टा भन्दा बढी रोकेर सास्ती दिइएको थियो । पैदलयात्रीलाई समेत भीआइपीको रुटमा प्रवेश गर्न रोक लगाइएको थियो । सार्वजनिक यातायातका साधनलाई समेत चल्न रोक लगाएपछि भृकुटीमण्डप र भद्रकालीको बीचमा बस कुरेर बस्नेको मेला नै लागेको थियो । आक्रोशमिश्रित आवाजमा उनीहरुले भीआइपी रात्रिभोजमा जाँदा आफूहरु जाममा बसिदिनुपर्ने भन्दै विरोध जनाएका थिए । 
 

भीआइपीहरुको आगमनको समयमा ट्राफिक प्रहरीले मोटरसाइकल र अन्य गाडीहरुको साइड लाइट समेत बाल्न नदिएपछि केही सर्वसाधारण थप आक्रोशित बन्न पुगेका थिए । अलग अलग समय गरी तीन पटकमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भद्रकालीतर्फ लाग्दा करिब आधाघण्टासम्म सर्वसाधारण बीच बाटोमा गन्तव्यहीन भएर अलपत्र परेका थिए । 
 

भीडमाझ अधिकांशले लोकतन्त्रमा समेत राष्ट्रप्रमुखहरुको आगमन हुँदा राजा महराजाले झै जनतालाई दुःख दिने काम बन्द हुनुपर्ने बताएका थिए । नेताहरुले आफ्नो सुविधा मात्र होइन, जनताको पीर मर्का समेत बुझ्नुपर्ने उनीहरुको सुझाव थियो । उनीहरुले भीआइपीहरुको यात्राको क्रममा सर्वसाधारण जनतालाई अनावश्यक दुःख नदिन समेत नेताहरुलाई सुझाव दिएका छन् ।