काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुआत गर्ने भएको छ। यसका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग हिजो बिहीबार सम्झौता गरेको छ। 

बैंकले व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगई आफैँले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन्। उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ। 

कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरेर सो सेवा प्राप्त गर्न सक्नेछन्। यसपछि प्रयोगकर्ताहरु आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सक्दछन्। उक्त सीमाभन्दा बढीको कारोबार गर्न बैंकको थप चेकजाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ। 

यस प्रणालीमा पहुँच पाउन मल्टीलेयर अटेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ। त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अपु्रभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ। ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ। 

सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास बैंकले लिएको छ।