काठमाण्डौ । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको सुन धितो कर्जा घोटाला प्रकरणका मुख्य आरोपी पद्म ज्ञवाली पक्राउ परेका छन्।

पल्पा घर भई हाल काठमाण्डौ चन्द्रागिरी नगरपालिका बस्दै आएका ६७ वर्षीय ज्ञवालीलाई सोमबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। ज्ञवाली सुन जाँचकी हुन्।

ज्ञवालीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको पाइएको सीआईबीले जनाएको छ। बैंकका कर्मचारीकै मिलेमतोमा ५ हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरिएको पाइएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। जब कि उक्त रकमबराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्नुपर्ने थियो। 

सीआईबीले यसअघि यस घोटाला प्रकरणका प्रमुख ऋणीहरू, बैंक तत्कालीन तीनजना शाखा प्रबन्धकसहित सातजनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिखे र अनिशसिंह सिंजापती छन्। त्यस्तै यो प्रकरणमा मुछिएका सुन ललितपुरका सुन व्यवसायी पूर्ण राई र देवानन्द राई तथा सुन पसलका कामदार सन्दीप लिम्बू पनि पक्राउ परिसकेका छन्। राईद्वयले २०७४ सालयता पटक–पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएका थिए। 

यो प्रकरणमा संलग्नहरु अन्य मानिसको खोजी भइरहेको सीआईबीले जनाएको छ। थप अनुसन्धान भइरहेको पनि सीआईबीले प्रस्ट पारेको छ।