काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
युववर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको हो।
कम्पनी सञ्चालक समितिको गत भदौ २५ गतेको निर्णयबमोजिम असोज महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो। दुईवर्षे यस अभियानमा चालु आर्थिक वर्ष २०७८/७९ मा २५ वटा जिल्लामा र आर्थिक वर्ष २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।
महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सीईओ रमेशकुमार भट्टराईका अनुसार यस कार्यक्रमअन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुका बारेमा जानकारीका साथै बीमाका बारेमा तालिम प्रदान गरिनेछ। ‘काम गरी आयआर्जन गर, बीमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गर्ने र जिल्ला–जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीका जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिने कम्पनीले जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन्।
यही असोज पहिलो साता काभ्रेको धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago