काठमाण्डौ । महालक्ष्मी विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २५ गते आआफ्नो वार्षिक साधारणसभा डोकेका छन्। 

महालक्ष्मी विकास बैंकको २० औँ वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरणको विशेष प्रस्ताव पेस हुनेछ। यो प्रस्ताव पारित भएपछि बैंकको चुक्तापूँजी बढेर ४ अर्ब रुपैयाँ माथि पुग्नेछ। 

यस्तै वार्षिक साधारणसभामा बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पनि पेस हुनेछ। 

सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ साल असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणसहितका अनुसूचिहरु पारित गर्ने प्रस्तावहरु पनि राखिएका छन्। 

साधारणसभामा सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्तालगायतका अन्य सुविधा वृद्धि गर्ने प्रस्तावसमेत पेस हुने बताइएको छ। 

यस्तै संस्थापक समूह(क)बाट ३ जना र सर्वसाधारण समूह(ख)बाट ३ जना गरी जम्मा ६ जना संचालकको निर्वाचन समेत हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। 

स्वतन्त्र सञ्चालक भने यसअघि नै नियुक्त भइसकेको बैंकले जनाएको छ। 

बैंकले अन्य बेलाजस्तो अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धमा कुनै पनि प्रस्ताव राखेको छै। बैंकले यसअघि नै कसैसँग मर्जरमा नजाने, बरु आफैं बलियो बन्दै अगाडि बढ्ने घोषणा गरिसकेको छ। 

निर्धन उत्थान लघुवित्तको २३ औँ वार्षिक साधारणसभा काठमाण्डौको नक्साल भगवतीबहालस्थित संस्थाको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो १ बजेबाट सुरु हुनेछ। 

सभाले संस्थाद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ३१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५५२६ प्रतिशत नगद लाभांश रहेका छन्।

सभाले संस्थाको हाल कायम अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँलाई वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। यस्तै प्रस्तावित बोनस सेयर जारीपछि संस्थाको संस्थाको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित हुनेछन्।