काठमाण्डौ । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट भद्रपुर रोडमा स्थानान्तरण भएको छ।

आज मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका छन्। उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति थियो। कार्यक्रममा उपस्थित सबैलाई अध्यक्ष उपाध्यायले कृतज्ञता ज्ञापन गरे। 

कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए। उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यस शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक भरतप्रसाद खतिवडाले व्यक्त गरे।