काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । 

यस्तै, कम्पनीले आफ्नो पूँजीमा पनि व्यापक बढोत्तरी गर्ने निर्णय गरेको छ । 

महालक्ष्मी लाइफको आइतबार काठमाण्डौको कमलपोखरीस्थित होटल हुकुम दरबारको सभाहलमा सम्पन्न विशेष वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । 

साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड पुर्याउने, सर्वसाधारणलाई ९० करोड रुपैयाँ बराबरको सेयर निश्कासन गर्ने निर्णय गरेको हो । 

यस्तै, मर्जर तथा एक्वीजिसनमा जान संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । 

उनकाअनुसार नियामक बीमा समितिले चैत १० गतेको निर्देशनबाट कम्पनीको चुक्तापूँजी ५०० करोड पुर्याउन भनेको र सोहीअनुसार विशेष साधारणसभाबाट निर्णयहरु भएका हुन् । 

कम्पनीले मर्जर वा एक्वीजिसनबाट चुक्तापूँजी ५०० करोड पुर्याउने योजना नियामक बीमा समितिमा पेश गरेको थियो । सो योजनामा समितिले सहमति जनाएसँगै महालक्ष्मी लाइफले विशेष साधारणसभा गरेर आवश्यक विभिन्न अजेण्डाहरु पारित गरेको हो । 

सभाले पूँजी वृद्धि योजना बमोजिम मर्जर र एक्वीजिसनपछि चुक्तापूँजी ५०० करोड रुपैयाँ पुर्याउने उद्देश्यले विशेष साधारणसभा सम्पन्न भएपछि बसेको संचालक समितिको ५८ औं बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी समेत बनाएको छ । 

अब यो समितिले मर्जर तथा एक्वीजिसनका लागि पार्टनर खोज्ने कामलाई तीव्रता दिने बताइएको छ ।