काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई १४ प्रतिशतभन्दा बढी लाभांश क्षमता बाँड्नसक्ने देखिएको छ । यो विकास बैंकले सकसपूर्ण अवस्था(समीक्षा अवधि)मा समेत ५८ करोड ६१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले १४ प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाएको छ । 

बैंकले खूद मुनाफातर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६६ करोडमा सीमित खूद नाफा बढाएर यो वर्ष ९५ करोड १९ लाख माथि पुर्याएको छ । 

नाफा बढेसँगै गत वर्ष १९.७५ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी बढेर २३.७३ रुपैयाँको उचाईमा पुगेको छ । 

महालक्ष्मी विकास बैंकले अघिल्लो वर्ष ९२ करोड ५४ लाखमा सीमित सञ्चालन मुनाफा बढाएर १ अर्ब ३४ करोड पुर्याएको छ भने १ अर्ब ६० करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर १ अर्ब ८९ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३७ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ५ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म ३८ अर्ब ६८ करोड बढी निक्षेप संकलन गरी ३० अर्ब ३५ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म १ अर्ब ५३ करोडमा सीमित रिजर्भको आकार बढेर १ अर्ब ८२ करोड पुगेको छ भने २.८० प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.४३ प्रतिशतमा सीमित गर्ने सफलता पनि व्यवस्थापनले पाएको देखिएको छ । 

समीक्षा अवधिमा यो बैंकको कस्ट अफ फण्ड ८.७३ प्रतिशत, आधार दर ११.११ प्रतिशत, पीई रेसियो १५.९३ गुणा, प्रतिसेयर नेटवर्थ १६०.०९ रुपैयाँ र कुल सम्पत्तिमा प्रतिफल १.७४ प्रतिशत कायम भएको छ ।