काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा लोभलाग्दो प्रगति गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ७८.६० प्रतिशतको छलाङ मारेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ८० करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ४५ करोड २१ लाख रुपैयाँमा सीमित थियो ।

अघिल्लो वर्ष ६४ करोड ९६ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यो वर्ष १ अर्ब ४ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ९ करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष २० लाख ५९ हजार रुपैयाँ रहेको रिटेन अर्निङमा यो वर्ष उल्लेख्य बढेर ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । बैंकले यो वर्ष रिजर्बको आकार १५.७३ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको रिजर्बको आकार १ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ३० अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ५ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २६ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको खराब कर्जाको अनुपात १.३४ प्रतिशतले घटाउँदै २.५४ प्रतिशतमा सीमित गर्न सफल भएको छ । अघिल्लो वर्ष यो अनुपात ३.८८ रहेको थियो ।

बैंकको कस्ट अफ फन्ड ८.६२ प्रतिशत रहेको छ भने सीडी रेसियो ७४.२७ प्रतिशत रहेको छ । बैंकको आधार दर ११.२५ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ ।