काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा १.१२ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ५ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा १५ करोड २६ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले १५ करोड ९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ४० करोड ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी २५करोड १८ लाख रुपैयाँ थियो । यसले बैंकको व्यवसायिक विस्तार आक्रामक देखाउँछ ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा ३३ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा ३० अर्ब ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष १ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको रिभर्जमा यो वर्षको पहिलो त्रैमासमा बढेर १ अर्ब ३४ करोड रुपैयाँ भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.९२ रुपैयाँ रहेको छ । प्रतिसयर नेटवर्थ १४५.७५ रुपैयाँ रहेको छ ।