काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा आज अर्थ मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले भर्खरै सम्पन्न महासंघको वार्षिक साधारण सभा र निर्वाचनका वारे जानकारी गराए ।  

अर्थ मन्त्रालयका सचिव(राजस्व) रामशरण पुडासेनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ र रामचन्द्र संघई सहभागी भएको सो कार्यक्रममा अध्यक्ष गोल्छाले अवको समय मुलुुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका विषयमा निकै धेरै काम गर्नुपर्ने भएकाले महासंघले सोही अनुसार तयारी गरि अघि बढेको स्पष्ट पारे । 

अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको बताए । कोभिड संकटमा महासंघले दिएका कतिपय सुझावहरू बजेट तथा मौद्रिक नीति मार्फत सम्वोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरीरहेको जानकारीमा आएकाले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरु अक्षरश लागू गर्न आग्रह गरे । उनंले समग्रमा साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजकै खांचो औल्याए । उनले भने– त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस् । 

महासंघले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडि बढाएको पनि उनले जानकारी दिए । महासंघले तयार गर्ने उक्त डकुमेन्ट विभिन्न देशहरूका सफल अनुभव र मोडलहरूका आधारमा तयार गरिने स्पष्ट पारे । डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताए । साथै उक्त डकुमेन्टमा मुलुकले हासिल गर्ने तत्तकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू किटान गरिने बताए । अध्यक्ष गोल्छाले राजस्व वोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गर्दै यसले निजी क्षेत्रमा समेत थप जिम्मेवारीको बोध भई सहकार्य गर्न सहयोग पुग्ने सुझाव दिए । सो अवसरमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा पनि जोड दिइएको थियो ।
सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयले निजी क्षेत्रसंगको सहकार्यलाई विशेष जोड दिई आएको र आगामी दिनमा पनि यस कार्यलाई थप मजवुत बनाउंदै जाने विश्वास दिलाए । 

महासंघका तर्फबाट अनुसन्धानमा आधारित रहेर सुझाव तयार गरी सरकारलाई पेश गर्ने कुरालाई आफूले अत्यन्त सकारात्मक रूपमा लिएको पनि बताए । अर्थमन्त्रीले महासंघसंग नियमित र संस्थागत संवादका माध्यमबाट अगाडि बढ्ने स्पष्ट पार्दै बजेट र मौद्रिक नीति मार्फत सम्बोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारको समेत जोड रहेको स्पष्ट पारे । अर्थमन्त्रीले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना समेत दिए ।