काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज उद्योग मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि आफ्नो आगामी कार्ययोजना वारे जानकारी गराए । 

मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई  र कोषाध्यक्ष सुकुन्तलाल हिराचन र उद्योग विभागका महानिर्देशक जीवलाल भुषाल सहभागी  भएको सो कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिड पश्चात उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि सुझावहरू तयार गर्ने कार्यको शुरूवात गरिएको बताए । अध्यक्ष गोल्छाले अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडि बढाएको र डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताए । 

विभिन्न कारणले यतिवेला गुमनाम हुन पुगेका कुनै समयका नेपालका स्थापित निर्यातमुलक उद्योगहरू जस्तो गार्मेन्ट, पश्मिना, गलैचा लगायतका उद्योगहरूको पुनरूत्थान गरी युवाहरूलाई रोजगारी दिनसके प्रतिवर्ष ठूलो परिमाणमा भारततर्फ जाने विप्रेषण समेत रोक्न सकिन बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीति मार्फत साना उद्यमी व्यवसायिका लागि दिइएका सुविधाहरू कार्यान्वयनमा मन्त्रालयले समन्वय गरिदिन पनि आग्रह गरे । साथै उनले दोहोरो करका कारण स्थानीय तहमा उद्योग व्यवसाय थप समस्या परेको पनि ध्यानकर्षण गराए । लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सवै प्रोटोकलहरू कायम गरी अविलम्व संचालन गर्नुपर्नेमा पनि जोड दिए । 

सो अवसरमा महासंघका तर्फबाट अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्र्याउने वातावरण बनाउनु पर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनु पर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भैसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानूनसंगै नियमावली पनि ल्याइनुपर्ने, चेम्वर ल ल्याउनु पर्ने, उद्योग व्यवसायमा हड्ताल नहुने सुनिश्चितता गराउनु पर्ने, सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वााणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्ने गरी दिने व्यवस्था गरिनुपर्ने लगायतका सुझावहरू राखिएको थियो । सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधै महासंघसंगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझावहरू निकै महत्वपूर्ण रहेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै नै महासंघका लगायतका अन्य व्यवसायिक संघ÷संस्थाहरू, सरोकारवाला सरकारी निकायहरू समेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निश्कर्षमा पुग्ने योजना मन्त्रालयको रहेको समेत जानकारी दिए ।