काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको यसपटकको निर्वाचनका लागि भएको चुनावी दौडधूपमा अरुणराज सुमार्गीले जिल्ला जिल्लामा पुगेर चण्डी ढकाललाई उडाएको विषयले निकै धेरै चर्चा पायो । जिल्ला दौडाहामा प्राय हरेक ठाउँमा उनले भाषण गर्दै भन्ने गरेका थिए-महासंघको ध्रुवे हात्तीलाई खेदाएरै छाडिन्छ ।

नभन्दै उनले भाषणमा भने झै दशकौंदेखिको चण्डीराज ढकालले उद्योग वाणिज्य महासंघको जिल्लानगरमा चलाएको दशकौंदेखिको एकछत्र राज अन्त भएको छ । चण्डीराज ढकालको स्ट्रेन्थ मानिने जिल्लानगरमै उनले कमाण्ड गरेको चन्द्रप्रसाद ढकाल समूहको लज्जाजनक हार भएसँगै चण्डीराज ढकालको जिल्लानगरमा लामो समयदेखिको शासन अन्त भएको देखिएको हो । 

कुनै बेला जिल्लाका उद्योगी व्यापारी चण्डी ढकाललाई भगवान नै मान्थे । ढकालले बोलेपछि उनीसँग प्रतिवाद गर्ने आँट कसैको हुँदैन थियो । ढकालले जसलाई आशिर्वाद दिन्छन्, उसैले महासंघ जिल्लानगरको नेतृत्व हत्याउनसक्छ भन्ने मान्यता नै स्थापित भइसकेको थियो । तर, महासंघको यसपटकको चुनाव र तीव्र ध्रुवीकरणले जिल्लानगरमा ढकालले लामो समयदेखि गाडेको जरो निकै कमजोर बनेको पुष्टि भएको छ । 

शनिवार राति कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको मुख्य सभाहलमा जिल्लानगरबाट महासंघको कार्यकारिणी सदस्य तथा उपाध्यक्ष पदमा खसेको मतगणना भएको थियो । मतगणनास्थलमा चण्डीराज ढकाल समेत उपस्थित थिए । लामो समयदेखि जिल्लानगरमा एकछत्र राज जमाएका ढकाल वस्तुगत र एशोसिएटको मतगणनास्थल छाडेर जिल्लानगरमा आएर बस्नुले समेत उनको प्राथमिकता क्षेत्र बुझ्न सकिन्थ्यो । 

कार्यकारिणी सदस्यको मतगणना आधा सकिएपछि चण्डीराज ढकालको अनुहार मलीन भइसकेको प्रष्ट पढ्न सकिन्थ्यो । आफ्ना भाई हेमराज ढकालसँगै दर्शकदिर्घाको अगाडिपट्टिको पंक्तिमा बसेका उनले कार्यकारिणी सदस्यदेखि उपाध्यक्षसम्मको मतगणना हुँदा चासोपूर्वक बसिरहे । 
जब जिल्लानगरका कार्यकारिणी सदस्यहरुको अन्तिम मतपरिणाम आयो, तब चण्डीराज ढकालको अनुहार थप मलीन देखियो । उनी केही छटपटाएजस्तो देखिन्थ्यो । एक पत्रकारले उनलाई गएर तपाईहरुको प्यानलबाट १८ जनामध्ये कतिजनाले जिते भनेर सोधे, हार्न नजान्ने चण्डीले गफ लगाइदिए: हामीले १३, उहाँहरुले ५ । तर, परिणाम उनले भनेजस्तो आएको थिएन । प्रधान समूहले १२ वटा सदस्यमा जित हासिल गरेको थियो भने जिल्लानगरका व्यवसायी व्यापारीमाझ बादशाह उपनामले चिनिने चण्डी ढकालले कमान सम्हालेको समूहका ६ उम्मेद्वारले मात्र जित निकालेका थिए । 
त्यसपछि पनि उनले निकटकाहरुसँग जिल्लानगर उपाध्यक्षमा चाहिँ आफूहरुकै जित हुन्छ भन्न छाडेनन् । जिल्लानगरको उपाध्यक्षका मतगणना सुरु भएपछि उनी थप आशावादी देखिए । किनभने मतगणनाको प्रारम्भमा आफ्ना टिमका जिल्लानगरका उपाध्यक्षका उम्मेद्वार गुणनिधि तिवारीको नाम दिनेश श्रेष्ठभन्दा बढी आयो । ढकालसहितकोे टिमले गुणनिधिको नाम धेरै आउँदा हुटिङ गर्यो । फेरि जब दिनेश श्रेष्ठको नाम बढी आउथ्यो, एउटै पंक्तिको केही पर बसेका किशोर प्रधान समूहका अरुणराज सुमार्गी लगायतले हुटिङ गर्न थाले । 

आ–आफ्ना उपाध्यक्षका उम्मेद्वारको पक्षमा मत आएको सुन्नेबित्तिकै हुटिङ हुन थालेपछि निर्वाचन अधिकृतले हुटिङ बन्द गरी शान्त बसिदिन आग्रह नै गर्नुपर्यो । । 

जिल्लानगर उपाध्यक्ष पदका लागि १०५ वटा मत थियो, जुन गन्न केही समय पनि लागेन । क्षणभरमै गुणनिधि भन्दा दिनेश श्रेष्ठ अगाडि बढे । हेर्दाहेर्दै दिनेश श्रेष्ठले जित निकाले । त्यसपछि भने चण्डीराज ढकाल थप गम्भीर देखिए । 

त्यहीबेला दिनेश श्रेष्ठलाई अबिरमाला लगाउँदै उत्साहित बनेका मतदाताहरुमाझ मिसिएका अरुणराज सुमार्गीले घरबाट बनाएर ल्याएको जेरी आफूले खाए र आपसमा बाँडीचुडी गरे । जेरी खाँदै उनले चण्डी ढकालले सुन्ने गरी भनिदिए ः मै हुँ त्यो मान्छे, जसले ध्रुवे हात्तीलाई मुसा बनाइदिएँ । पहिला ध्रुवे हात्ती बनाउने पनि मै थिएँ । 

सुमार्गीले कानै छेउमा यसो भनिरहँदा हारेको सिपाही झै चण्डी ढकाल भने चूपचाप बसिरहे । छेउमै रहेका उनका भाई हेमराज ढकाल समेत मलीन मुद्रामा देखिन्थे । 

छेउमै रहेका किशोर प्रधान समूहका चुनावी कमाण्डर पशुपति मुरारका र शेखर गोल्छा भने मुसुमुसु हाँसिरहेका देखिन्थे ।

यो दृश्यले महासंघको राजनीतिमा दुई समूहबीचको तिक्तता कुन हदसम्म रहेछ भन्ने पनि देखिन्थ्यो । 

यस्तै, किशोर प्रधान समूह चण्डीराज ढकाललाई कुनै पनि हालतमा हराउने रणनीतिमा थियो भन्ने पनि यसले देखाउँछ । यसले यो चुनाव किशोर प्रधान र चन्द्र ढकालबीचको प्रतिस्पर्धा नभएर चण्डी ढकाललाई जसरी पनि तह लगाउने समूह(गोल्छा-मुरारका समूह) र चण्डीबीचको प्रतिस्पर्धा थियो भन्ने पनि देखिन्छ । 

निश्कर्षमा हेर्दा चण्डीराज ढकालसँगको इगोको खेलले यो पटक चन्द्रप्रसाद ढकाललाई घाटा नै भएको देखिएको छ । चण्डीराज ढकालको कमाण्ड स्वीकारेकै कारण चन्द्रप्रसाद ढकालका लागि जित निकै कठीन बन्यो । भाग्यवश, 'धान खाने मुसो, चोट पाउने भ्यागुतो' भनेको जस्तो नियति यो पटक चन्द्र ढकालले भोग्नुपरेन ।