काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा आज महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र महिला उद्यमशीलता विकास विस्तार गर्न वित्तीय संस्थाहरूको सहयोग अपरिहार्य रहने हुंदा महासंघ र सनराइज बीचको सहकार्यमा भएको यस कार्यक्रमले निकै ठूलो सहयोग पु¥याउने र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले कार्यक्रमको महत्व हेरेर महासंघले बैंकको सहकार्यमा सातै प्रदेशमा यस प्रकारको कार्यक्रम लैजाने र बैंकले उद्यमी व्यवसायीहरूलाई उपलव्ध गराउने बैंकिङ कर्जा÷सहुलियतका विषयमा हातेपुस्तिकासमेत प्रकाशन गर्ने बताइन् । 

महासंघका महानिर्देशक धरणीधर खतिवडाले आर्थिक रूपमा महिलालाई शसक्तीकरण गर्न नसकेसम्म एउटा घर, समाज र राष्ट्र समुन्नत हुन नसक्ने हुंदा महिलाको आर्थिक सशक्तीकरणमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । 

सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा अधिकारीले सरकारले उद्योग व्यवसायलाई दिएको सहुलियत कर्जा सुविधाका विषयमा उद्यमी व्यवसायीहरूलाई जागृत गराउने उद्देश्यले आयोजना भएका यस्ता कार्यक्रमबाट लाभ उठाउन महिला उद्यमीहरूलाई आग्रह गरिन् । 

कार्यक्रममा बैंकका विजनेश बैकिङ विभागका प्रमुख हरिप्रसाद आचार्य र व्यापार भुक्तानी विभागका प्रमुख विष्णु प्रसाद उप्रेतीले महिला उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धी प्रस्तुति दिए । कार्यक्रममा करिव ५० जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।