काठमाण्डौ । दि. एसोसिएटेड च्याम्वर्स अफ कमर्स एण्ड इण्डष्ट्रि अफ इण्डिया(एसोचेमद्वारा आजदेखि भारतको नयां दिल्लीमा आयोजना गरिएको जेम इन्टरनेशनल सस्टेन्याबिलिटि कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भाग लिएका छन् ।  

उक्त कार्यक्रमको समुद्घाटन समारोहमा विशेष अतिथिको रूपमा निम्त्याइएका महानिर्देशक खतिवडाले नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधनसमेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक खतिवडाले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्यसहित नेपाल अगाडि बढीरहेको र त्यसका लागि सरकारले निजी क्षेत्र समेतको सहयोगमा कार्य गरिरहेको जानकारी गराए । 

यतिखेर जलवायु परिवर्तनको विषयले विश्वकै ध्यानाकर्षण गराइरहेको अवस्थामा नेपालले पनि यसबाट आउन सक्ने चुनौतीहरूलाई सामना गर्दै दिगो आर्थिक विकासको गतिलाई निरन्तर अगाडी बढाउन तयारीहरू गरिरहेको उल्लेख गर्दै यसका लागि सरकारले अगाडि सारेका नीति तथा योजनाहरू सफल पार्न निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघले उर्जा दक्षता, नवीकरणीय उर्जा, वातावरण संरक्षणमा सहयोग गर्ने औद्योगिक उत्पादनहरूको प्रवद्र्धनमा विशेष जोड दिइरहेको जानकारी गराए । 

दिगो विकास लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सहयोग गर्न निजी क्षेत्रले सरकारसंग नजिकमा रहेर कार्य गर्दै आएको धारणा राख्दै महानिर्देशक खतिवडाले सरकारले अगाडि बढाएको ग्रीन क्लाइमेट फण्डको अभियानमा महासंघ सहभागी भई सहयोग गर्ने प्रतिवद्धतासमेत जनाई सकेको स्पष्ट पारे । महानिर्देशक खतिवडाले मुलुकको समृद्धिको लागि नेपाली निजी क्षेत्र र सरकार समेत एक साथ कार्य गरिरहेको अहिलेको अवस्थामा नेपालको आर्थिक विकासमा भारतीय सहयोग अपरीहार्य रहेको बताए । 

कार्यक्रमकै सिलसिलामा आजै महासंघ र एसोचेमबीच संयुक्त सहकार्य गर्ने उद्देश्यले एक सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमतिपत्रमा महासंघका महानिर्देशक खतिवडा र एसोचेमका महासचिव दिपक सुदले हस्ताक्षर गरे । सहमति अनुसार नेपाल र भारतबीच उद्योग व्यवसाय, संयुक्त लगानी, प्रविधि आदान प्रदान तथा व्यवहारिक समस्या समाधानमा सहकार्य गर्ने उल्लेख छ । 

त्यसैगरी आर्थिक व्यवसायिक, नीतिगत विषय, लगानीका सम्भाव्य क्षेत्रहरू सम्बन्धी सूचनाको आदान प्रदान गर्ने, व्यवसायिक भेटघाट, वैठक छलफल तालीमको आयोजना तथा प्रतिनिधिमण्डलको आदान प्रदान, दुवै देशमा पालैपालो तथा आवश्यकताका आधारमा तेस्रो मुलुकमासमेत दुवै संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना , उत्पादन तथा सेवाको गुणस्तर सुधार, मेला महोत्सवको आयोजनामा जोड दिइएको छ । 

हस्ताक्षर पश्चात् दुवै संस्थाबाट लामो समयदेखि हुंदै आएको संस्थागत सहकार्यलाई यो सहमतिपत्रले अझ बढी मजवुद बनाउने भन्दै सहमतिपत्रमा उल्लेखित वुँदाहरूलाई अक्षरशः पालना गरी दुवै देशका जनताको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरियो । 

कार्यक्रममा सार्क क्षेत्रका उद्यमी व्यवसायीहरू, भारतीय सरकार तथा निजी क्षेत्रका पदाधिकारी, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको छ । कार्यक्रम भोलिसम्म चल्ने छ । महासंघका महानिर्देशक खतिवडाले भोली आयोजना हुने समापन समारोहमा समेत सम्बोधन गर्ने कार्यक्रम छ ।