– रेखा चन्द

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले गत पुसदेखि निक्षेपको ब्याजदर स्थिर राखेका छन्। उनीहरुले भदौमा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने निर्णय गरेका छन्।

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गर्दै बैंकहरुलाई आवश्यक परेको बेलामा ब्याजदर बढाउन वा घटाउन सक्ने व्यवस्था गरेको छ। तर, बैंकहरुले ब्याजदर बढाउँदा पनि प्रणालीमा निक्षेप नबढ्ने हुँदा लगातार ९ महिना निक्षेपको ब्याजदर परिवर्तन गरेका छैनन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत राष्ट्र बैंक मुद्दति निक्षेपतर्फ संस्थागत र व्यक्तिगतको ब्याजदरमा २ प्रतिशत अन्तर राख्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थालाई ध्यानमा राखेर बैंक तथा वित्तीय संस्थाले भदौमा भने संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेका छन्। 

यता बैंकिङ प्रणालीमा तरलताको चाप उस्तै छ। यो  अवस्थामा बैंकहरुले न त ब्याजदर नै बढाइरहेका छन् न त प्रणालीमा निक्षेप नै भित्रिरहेको छ। जसका कारण बैंकहरुले कर्जा प्रवाह गर्ने कार्यलाई ठप्प प्राय राखेका छन् भने कतिपयले स–साना कर्जामात्रै दिइरहेका छन्।

ब्याजदर बढाए पनि निक्षेप नबढ्ने र लागतमात्रै बढ्ने भएपछि भदौका लागि पनि ब्याजदर नबढाउने निर्णय भएको नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन्। ‘अहिलेको अवस्थामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय भएको छ’, उनले भने, ‘व्यक्तिगत निक्षेपको ब्याजदर बढाउँदा साधारण निक्षेपको पनि ब्याजदर बढ्छ, यसले बैंकहरुको लागत पनि बढ्ने भएकाले यस्तो निर्णय गरेका हौँ।’

ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने हुँदा बैंकहरुले लामो समयसम्म ब्याजदर स्थिर राखेको एनबीएका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्। ‘रेट बढाउँदैमा बैंकमा निक्षेप बढ्छ भन्ने हुँदैन’, उनले भने, ‘व्यक्तिगत मुुद्दति निक्षेपको ब्याजदर गत वर्षदेखि ११.०३ प्रतिशत छ तर निक्षेपको अवस्था जस्ताको त्यस्तै छ। मेन कुरा हामीकहाँ बाहिरबाट जति पैसा आएको छ त्योभन्दा बढी पैसा सामान खरिद गर्न पुनः विदेश नै गएको छ। नेपालभित्रै उत्पादन हुने स्थिति भएको भए त्यो पैसा यही रहन्थ्यो। जसले गर्दा डिपोजिट पनि बढ्थ्यो।’

संसारभर क्राइसिस बढेको उल्लेख पूर्वअध्यक्ष दाहालले निक्षेपको वृद्धि एकदमै कम र कर्जाको वृद्धि एकदमै धेरै रहेको अवस्थाबीच बैंकहरुलाई स्रोत जुुटाउन चुनौती रहेको बताए। ‘अहिले निक्षेपको वृद्धि एकदमै कम र कर्जाको वृद्धि एकदमै धेरै छ, बैंकहरुले स्रोत जुुटाउनुपर्ने अवस्था छ’, उनले भने, ‘त्यसैले हामीले आयातलाइ प्रतिस्थापन र निर्यातलाई बढाउनै पर्छ।’

ब्याजदर बढाएर थप डिपोजिट आउने अवस्था नभएपछि बैंक तथा वित्तीय संस्थाहरुले लामो समयदेखि एउटै ब्याजदरलाई निरन्तरता दिइरहेको वित्त विश्लेषक हेमन्त बस्याल बताउँछन्। ‘ब्याजदर बढाएर पनि थप डिपोजिट आउँदैन, त्यसले बैंकको लागतलाई मात्रै बढाउँछ र डिफल्ट ट्रेडलाई कम्पाइल गर्न सक्छ भन्ने हिसाबले बैंकरहरुले ब्याजदर नबढाएकोजस्तो देखिन्छ’, उनले भने। 

यता एनबीएले साउन २७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घटेको जनाएको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा २९ अर्ब २३ करोडमात्रै अधिक तरलता छ। जसले बैंकहरुको लगानीयोग्य रकममा चाप कायमै रहेको बुझिन्छ।