काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १४१.१२ प्रतिशतको छलाङ मार्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफा १ करोड ६० लाख रुपैयाँले बढाउन सफल भएको हो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ८ करोड ९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ५ करोड ५२ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा ३ करोड ३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाले ७५ करोड २८ लाख रुपैयाँ सापटी लिई १ अर्ब २१ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ५५ करोड २१ लाख रुपैयाँ सापटी लिई ८० करोड ९९ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ नै थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ११९.४५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ करोड ८ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर ४ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी २२.६८ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १९.४४ गुणा, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १११६ रुपैयाँ रहेको छ ।