काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आउँदो शुक्रबार हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले महिला लघुवित्त आईपीओ बाँडफाँड आउँदो शुक्रबार बिहान ८ बजे हुने जनाएको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको हात्तीसारस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा हुनेछ। 

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको सकिएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। यसमा मागभन्दा ६० गुणा बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।  

यो हिसाबले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।