काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा आज बिहान ८ बजे महिला लघुवित्तको आईपीओ बाँडफाँड भएको हो। हालसम्मकै उच्च आवेदन परेको यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट भएको छ। 

गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्। 

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको सकिएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा कुल १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता माग भएको थियो। जसमध्ये १५ लाख ३६ हजार ६८२ आवेदकबाट २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता मागमात्रै सदर भएको थियो। बाँकी ३ हजार ३५३ आवेदकबाट ५४ हजार ९६० कित्ता भएको माग भने बदर भएको थियो। 

यो हिसाबले १४ लाख ९८ हजार ८८२ आवेदकको हात खाली भएको छ।   

आईपीओको रिजल्ट भने अब धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सीडीएससी र आईपीओ जारी गर्ने सम्बन्धित कम्पनीले मात्र सार्वजनिक गर्नेछन्।