काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७७.५३ प्रतिशतले छलाङ मारेको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड ८७ लाख रुपैयाँको फड्को मार्न सफल भएको हो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १४ करोड ७३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ९ करोड ६१ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ६ करोड ७४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ करोड १३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ८९ लाख ५० हजार रुपैयाँ थियो। 

यस अवधिमा संस्थाले ९७ करोड १३ लाख रुपैयाँ सापटी लिई २ अर्ब ६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ७३ करोड ७५ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १४८.०४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १५ करोड ९१ लाख रुपैयाँको जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी ४२.१० रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २२.९४, प्रतिसेयर नेटवर्थ २८९.४१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२२५.१७ रुपैयाँ रहेको छ ।