काठमाण्डौ । आईएनजी समूहअन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ मोबाइल एप्लिकेसन ‘माई सेकेन्ड टिचर’ राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ।

नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियहरुका लागि माई सेकेन्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्लोदिङ रेगुलेसनअनुसार नेपाल क्रिकेट संघ सोमबार सम्झौता गरेको हो। सम्झौताअनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै स्थानहरुमा माई सेकेन्ड टिचरले प्रमुख स्थान लिनेछ भने आईएनजी ग्रुप र इस्लिङ्टन कलेजको पनि लोगो प्रयोग गर्नेछ।

नेपाली क्रिकेट टोलीको जर्सीको बित्तीय अधिकार प्रदान गरेको एड प्याडमार्फत माई सेकेन्ड टिचर भित्रिएको हो। क्यानले एड प्याडसँग जनवरी २, २०२१ मा सम्झौता गरेको थियो।

‘नेपालको शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनका लागि कार्यरत इनोभेट टेकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौँ’, सम्झौता हस्ताक्षर कार्यक्रममा अनुपस्थित रहेका नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले एक प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘यो साझेदारी नेपालको ग्रामिण क्षेत्रसम्म शिक्षाको महत्वको विषयमा प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।’

‘राष्ट्रिय क्रिकेट टोलीसँग आबद्ध हुन पाएकोमा हामी क्यान र एड प्याडप्रति कृतज्ञ छौँ। यो साझेदारीपछि खेलकुदको माध्यमबाट हामी हाम्रो एप्लिकेसनमात्र नभएर शिक्षालाई नै प्रवर्द्धन गर्न सक्नेछौँ।माई सेकेन्ड टिचर नेपालकै पहिलो लर्निङ एप्लिकेसन हो र सबै तहका विद्यार्थीहरुसमक्ष पुग्न हामीलाई यो सहकार्यले मद्दत गर्नेछ’, माई सकेन्ड टिचरका को–फाउन्र र आईएनजी ग्रुपका अध्यक्ष सुलभ बढाथोकीले भने।

एड प्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले आफ्नो कम्पनीले नवीनशैलीको साझेदारीमार्फत व्यापारलाई खेलकुदसँग जोड्ने सिद्धान्तअनुरुप नै इनोभेट टेक नेपाली क्रिकेटमा भित्र्याएको बताए।