काठमाण्डौ । गत वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई एक समारोहबीच मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले प्रोत्साहन र सम्मानस्वरुप नगद रु. ५ लाख प्रदान गरेको छ। सोही प्रतियोगितामा डेब्यू गरेका ४ खेलाडीलाई एमएसटीले जनही रु. १ लाख प्रदान गरेको छ। 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेसिया र नेदरल्यान्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो। आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टुमा नेपालले दोस्रो शृंखलामा स्कटल्यान्ड र नाम्बियाको सामना गर्ने छ। 

उक्त समारोहमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द« मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि नेपालको प्रदर्शन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए। 

समारोहमा इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने, ‘ट्राई नेसन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै नै गर्वशाली महसुस भएको छ। नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगतमा नेपाल चाँडै नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु। 

यसका साथै एमएसटीले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगतको स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमूल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेकोे छ।’