काठमाण्डौ । बजारमा जिउँदो कुखुराको मूल्य मूल्य प्रतिकेजी ३०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। 

जिउँदो कुखुराको आपूर्ति घट्नु र माग उच्च हुनुले मूल्य आकासिएको हो। जिउँदो कुखुराको आपूर्ति घट्नुमा पछिल्लो समय देखिएको रानीखेत रोग नै रहेको व्यवसायीहरु बताउँछन्। आपूर्ति घट्दै जाने र माग बढ्दै जाने हो भने जिउँदो कुखुराको मूल्य अझै बढ्न सक्ने उनीहरुको भनाइ छ। 

दुई साताअघिसम्म जिउँदो कुखुराको मूल्य प्रतिकेजी २७० रुपैयाँसम्म थियो। तर जिउँदो कुखुराको मूल्य बढ्दै जानुले सीधा असर आमउपभोक्तामा पर्ने देखिएको छ। अहिले उपभोक्तालाई तयारी मासु प्रतिकेजी ४१५ रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। तर पसलैपिच्छे उपभोक्ताले तयारी मासु प्रतिकेजी ४२० रुपैयाँदेखि ४५० रुपैयाँसम्म तिरिरहेका छन्।  

पोल्ट्री फार्मको क्षमताभन्दा एक चौथाइमात्र चल्ला उत्पादन हुन थालेपछि जिउँदो कुखुराको मूल्य बढ्न थालेको बताइन्छ। सातामा ६ लाख चल्ला उत्पादन हुने फार्ममा यतिबेला १ लाख मात्र चल्ला उत्पादन भइरहेको छ। चल्लाको मूल्य पनि बढेर ८५ देखि ९५ रुपैयाँ पुगेको छ।