काठमाण्डौ । आगामी माघदेखि धितोपत्र कारोबारको राफसाफ चक्र २ कार्यदिन बनाइने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फछर्याैट विनियमावली,२०६९ संसोधन गरी राफसाफ चक्र २ कार्यदिन बनाउन लागेको हो । 

नेपाल स्टक एक्सचेञ्जकी उपप्रबन्धक प्रवीण पन्धाक संयोजकत्वमा बनेको कमिटीले समेत राफसाफ चक्र २ कार्यदिन उपयुक्त रहेको सिफारिस गरेको थियो । 

यस्तै यही आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बोर्डको नीति तथा कार्यक्रममा समेत यो विषय समावेश गरिएको थियो । पूर्व घोषित यही नीति कार्यान्वयनको चरणमा पुग्न लागेको हो । 
 
बोर्डका एक उच्च अधिकारीले धितोपत्र कारोबार राफसाफ तथा फछ्र्याैट विनियमावली,२०६९ संसोधनको अन्तिम चरणमा रहेको र छिट्टै  सञ्चालक समितिबाट पास भइसकेपछि सीडीएससीलाई निर्देशन दिने तयारी भएको जानकारी दिए ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले धितोपत्र कारोबार राफसाफका लागि मोडालिटी तयार भइसकेको र अपडेट गरेपछि राफसाफ चक्र घटाउन कुनै समस्या नहुने बताएका छन् ।

राफसाफ चक्र घटाइएपछि फण्ड ट्रान्सफरको जोखिम भने ब्रोकरहरुलाई बढ्नसक्ने जानकारहरु बताउँछन् । 

हाल धितोपत्र खरिद गरेपछि २ कार्यदिनभित्र रकम ब्रोकरलाई बुझाउनुपर्ने व्यवस्था रहेकोमा राफसाफ चक्र(टी प्लस ३)अनुसार तेस्रो कार्यदिनमा राफसाफ हुने व्यवस्था छ । अब राफसाफ चक्र घटेपछि लगानीकर्ताले ब्रोकरलाई सेयर खरिद गरेपछि गर्नुपर्ने भुक्तानी समेत छोटिइ किनेकै दिन वा भोलिपल्ट रकम तिर्नुपर्ने हुन्छ । 

हालकै राफसाफ चक्रअनुसार ३ कार्यदिनभित्र समेत लगानीकर्ताबाट सेयर खरिदबापतको रकम लिन धौ धौ पर्ने गरेको ब्रोकरहरु बताउँछन् । 

‘ब्रोकर कम्पनीका नाममा बैंकबाट लिइएको ओडी, सहकारीबाट झिकिएको पैसा र कहिलेकाहीँ साथीभाइबाट तेस्रो कार्यदिनमा जेनतेन फण्ड जुटाएर अहिलेसम्म व्यवस्थापन गर्दै आइरहेका छौं।’एक ब्रोकरले बिजशालासँग भने–‘नगदमा भन्दा उधारोमा सेयर किन्ने प्रवृत्ति बढ्दै गइरहेकाले अब प्रिपेड सिस्टम (अग्रिम भुक्तानी)बनाएको खण्डमा मात्र ब्रोकरहरुलाई वित्तीय जोखिम कम हुन्थ्यो ।’