काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। 

माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आँकलन मन्त्रालयको प्रक्षेपण छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिडको अवस्थाबारे प्रतिवेदन पेस गर्दै यस्तो प्रक्षेपणसहितको तथ्यांक पेस गरेका हुन्। 

दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण मन्त्रालयको छ। ‘उक्त समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र १ हजार बढीमा जटिल प्रकारको संक्रमण देखिनेछ’, डा पौडेलले भने, ‘९ हजार ८४८ मा भने सामान्य लक्षणमात्रै देखिनेछ।’ 

दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन राम्रो तयारी गरिएको मन्त्रालयको दाबी छ। प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, बागमती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिन्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता अभिवृद्धि गरिएको मन्त्रालयले जनाएको छ।