काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजार उकालो गतितिर अगाडि बढिरहेको छ।

सकारात्मक ढंगले अगाडि बढिरहेको सेयर बजारमा अहिले पुराना तथा नयाँ लगानीकर्ताहरु धमाधम पैसा खन्याइरहेका छन्। कोरोनाका कारण लगानीका अन्य क्षेत्रमा खासै प्रतिफल प्राप्त नभइरहेकै बेला सेयरमा लगानी बढ्दै गइरहेको छ।

यतिबेला बैंकहरुले पनि सेयर धितो कर्जाको ब्याजदर पहिलेभन्दा निकै कम गरेका छन्। बैंकहरुबाट सेयर धितो कर्जा लिँदै लगानीकर्ताहरुले सेयर बजारमा थप पैसा खन्याइरहेका छन्। 

सेयर धितो कर्जा गर्ने हो भने राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा यो कर्जा उपलब्ध गराइरहेको छ। 

भोलि माघ १ गतेबाट लागू हुने राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जासँगै अन्य कर्जा तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार बैंकले न्यूनतम ७.२४ प्रतिशत ब्याजदरमै यो कर्जा उपलब्ध गराउने भएको छ। बैंकले अधिकतममा यस्तो कर्जामा ८.७४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। 

बैंकको आधारदर ५.७४ प्रतिशत रहेको छ। अर्थात बैंकले आधारदरमा न्यूनतम १.५० देखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियर जोडेर सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ।