काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आउँदा माघ २२ गते करिब सवा २ करोड कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले संस्थापक समूहको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो। कम्पनीले गत भदौ २० देखि असोज ४ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको अवितरित हकप्रदमा बिक्री हुन बाँकी रहेको उक्त सेयर पुनः लिलामीमा राख्ने भएको हो। 

यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतमक १०० कित्तादेखि अधिकतममा सम्पूर्ण सेयर संख्याका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका शाखाहरु उपत्यकाभित्र संखमूल–नयाँ बानेश्वर र उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगनज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगनज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम दिन फागुन ८ गतेसम्म तोकिएको छ। 

लिलामीमा राखिएको यो सेयर सेयरधनीहरु समूह ‘क’को उपसमूह ‘क–२’अन्तर्गतको ‘अन्य संस्थापक’ उप–समूहमा रहने कम्पनीले जनाएको छ। यो नेप्सेमा एचआईडीसीएलपी संकेतमा कारोबार गर्न योग्य हुने पनि कम्पनीले स्पष्ट पारेको छ।