काठमाण्डौ । स्वदेशी लगानीको सबैभन्दा ठूलो एवं राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आज सोमबार बिजुली उत्पादन सुरु भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गरेसँगै बिजुली उत्पादन सुरु भएको हो। कुल ४५६ मेगावाट क्षमताको योे आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ।

माथिल्लो तामाकोशीमा ६ वटा युनिट छन्। ती प्रत्येक युनिट ७६/७६ मेगावाट बिजुली उत्पादन गर्ने क्षमताका छन्। 

आउँदो भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ। 

माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली विद्युत गृह रहेको गोगरबाट न्यु खिम्ती सबस्टेसनहुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। 

आयोजना सुरुआती लागत ३५ अर्ब रहने बताइएको थियो। विविध कारणले लागत बढेर झन्डै ८० अर्ब हाराहारी पुगेको छ।