काठमाण्डौ । मानिसले औसतमा दैनिक ४.८ घन्टा मोबाइल फोनमा बिताउने गरेको तथ्य सार्वजनिक भएको छ। 

एप एनी नामक एप निगरानी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा विश्वभरि मोबाइल फोनमा कुल २ खर्ब ३० अर्ब पटक एपहरु डाउनलोड गरिएको र १ खर्ब ७० अर्ब अमेरिकी डलर खर्च गरिएको जनाइएको छ। टिकटक विश्वमा सबैभन्दा बढी डाउनलोड गरिएको एप थियो। जसमा सन् २०२० को तुलनामा प्रयोगकर्ताले ९० प्रतिशत बढी समय बिताए। ‘ठूलो स्क्रिन बिस्तारै हराउँदैछ किनकि मोबाइलमा मानिसले दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ’, एप एनीका प्रमुख कार्यकारी थियोडर क्रान्जले भने।

सन् २०२२ को उत्तरार्द्धमा टिकटकको मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ५० करोड पुग्ने आँकलन गरिएको छ। मोबाइलका एपमा बिताइएको औसत समय ४ घन्टा ४८ मिनेट थियो। जुन सन् २०१९ को तुलनामा ३० प्रतिशतले बढी भएको एप एनीको ‘स्टेट अफ मोबाइल’ प्रतिवेदनमा जनाइएको छ।

भारत, टर्की, अमेरिका, जापान, मेक्सिको, सिंगापुर र क्यानडासहित विश्वका १० प्रमुख देशहरुको तथ्यांकका आधारमा प्रतिवेदन निकालिएको हो। ब्रजिल, इन्डोनेसिया र दक्षिण कोरियामा भने मोबाइल प्रयोगको दैनिक औसत समय ५ घन्टाभन्दा माथि छ। ती समयमध्ये प्रतिघन्टा ४२ मिनेट सामाजिक सञ्जाल–सोसल मिडिया, भिडियो वा तस्बिरसम्बन्धी एपमा बिताइएको छ।

मोबाइलको आर्थिक प्रणाली स्वस्थ्य देखिएको छ। सन् २०२१ मा २० लाख नयाँ एप र गेम थपिए भने वार्षिक १ करोड डलरभन्दा बढी कमाउने एपको संख्या २० प्रतिशतले बढ्यो। भिडियो स्ट्रिमिङ एपमध्ये ६० देशमा १० लाखभन्दा बढी डाउनलोड भएको युट्युब सबैभन्दा लोकप्रिय रह्यो भने नेटफ्लिक्स दोस्रो स्थानमा रह्यो।

मोबाइल गेममा मानिसहरुले १ खर्ब १६ अर्ब डलर खर्च गरेका छन्। केही प्रयोगकर्ताले एपमा देखिने विज्ञापन अत्यधिक भएको बताउने गरेका छन्। गत वर्ष विश्वभरि मोबाइल एप विज्ञापनमा झन्डै ३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ।

गत वर्षको मोबाइल फोन तथ्यांकले विश्वमा भइरहेको घटनाक्रमलाई पनि प्रतिनिधित्व गर्छ। जस्तो कि मानिसहरुले किनमेल गर्ने एपमा धेरै समय बिताए। त्यसैगरी खानेकुरासम्बन्धी एप पनि लोकप्रिय बने। ती एपहरु अघिल्लो वर्षभन्दा ५० प्रतिशत बढी पटक खोलियो।

स्वास्थ्यसम्बन्धी एपहरुको प्रयोग पनि बढेको देखिएको छ। महामारीका कारण मानिसहरुले व्यायाम घरहरु जान नसकेपछि आफैँ व्यायाम गर्न यस्ता एप डाउनलोड गरेका हुन्। मानसिक स्वास्थ्यबारे फैलिएको जनचेतनाका कारण हेडस्पेस र कामजस्ता एपहरु लोकप्रिय बने। मानसिक स्वास्थ्यसम्बन्धी प्रमुख ५ एपहरुको डाउनलोड सन् २०२१ मा २७ प्रतिशतले बढ्यो। –बीबीसीबाट