काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ तेस्रो दिन शुक्रबारसम्म ६५.२० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

संस्थाले गत  साउन २७ गतेबाट जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। संस्थाले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्रा आईपीओ निष्कासन गरेको हो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार शुक्रबार साँझसम्म मानुषी लघुवित्तको आईपीओमा १८ लाख ५६ हजार ५५० आवेदकबाट २ करोड ४० लाख ३४ हजार १५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६५.२० गुणा बढी हो। 

मानुषी लघुवित्तको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यो आईपीओको निष्कासन बन्द साउन ३१ गते हुनेछ। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मानुषी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो।