काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन (साउन ३१ गते) सम्म ८३.१० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

संस्थाले गत साउन २७ गतेबाट जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्रा आईपीओ निष्कासन गरेको हो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो। 

सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिन आइतबार साँझसम्म मानुषी लघुवित्तको आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८३.१० गुणा बढी हो। 

यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये १० कित्ता बढी आवेदन दिने भाग्यमानी ३ जनाले थप १÷१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने भएको छ।  

मानुषी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।