काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान ८ः३० बजे मानुषी लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। 

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो। 

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ। बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता सेयर बदर भएको छ।  

यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये भाग्यमानी ३ जनाले गोलाप्रथाबाट थप १/१ कित्ता सेयर पाउनेछन्। 

यो हिसाबले यस आईपीओमा २३ लाख १७ हजार ८८९ आवेदकको हात खालि भएको छ।  

मानुषी लघुवित्तको आईपीओका अन्तिम नतिजा केही घन्टापछि सीडीएससीको https://iporesult.cdsc.com.np/, मानुषी लघुवित्त र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइटमा हेर्न सकिनेछ।