काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले यही २७ जनवरीबाट लागू हुने गरी आफ्ना केही कारको मूल्यमा ५ प्रतिशतसम्म बढाएको छ ।

कम्पनीले मूूल्य बढ्नुको पछाडि उत्पादन गर्दा लाग्ने इनपुट कस्टमा भएको वृद्धिलाई मुख्य कारण रहेको जनाएको छ । कम्पनीको तथ्यांकले यो वृद्धि शून्यदेखि ४.७ प्रतिशतसम्म भएको देखाएको छ । कम्पनीले कारको मूल्य एक्स शोरुमअनुसार बढाउनेछ ।

मारुती सुजुकीले सबैभन्दा धेरै बिक्री भइरहेका साना कार मध्य अल्टोको मूल्यमा ६ हजार भारुदेखि ९ हजार ३ सय भारुसम्म बढाउने निर्णय गरेको छ ।

यस्तै सन् २०१९ मा लन्च भएको एस प्रेसो कारको मूल्यमा पनि १५ सय भारुदेखि ८ हजार भारुसम्म बढाइने कम्पनीले जनाएको छ । नेपालमा एस प्रसो कार विक्रीवितरण भएदेखि यो कारको लोकप्रियता बढेको छ । लन्च भएको छोटो अवधिमा नै यो कार नेपाली ग्राहक माझ लोकप्रिय बनेको थियो। अहिले पनि यो कारले नेपाली अटो बजारको ठूलो हिस्सा आगटेको छ। 

त्यस्तै कम्पनीले वेगन आरको मूल्य पनि बढाउनेछ । कम्पनीले वेगन आरको मूल्य १५ सयदेखि ४ हजारसम्म बढाएको छ । कम्पनीले आफ्नो अर्काे लोकप्रिय कार स्विफ्टको मूल्यमा पनि भारु ५ हजारसम्म बढाएको छ । 

यसैगरी एमपीवी कार एर्टीगाको मूल्य पनि ४ हजार ३ सय देखि १० हजार भारुले बढेको छ । कम्पनीको अर्काे लोकप्रिय मोडल बालेनोको मूल्य पनि ३ हजार दुई सय देखि ८ हजार भारु बढेको छ । त्यस्तै एक्सएल सिक्स पनि ५ हजार भारुले महंगिएको छ । – एजेन्सी