काठमाण्डौ । मारुती सुजुकीले अहिलेसम्मकै सस्तो इन्ट्री लेभलका दुईवटा कार ल्याउने तयारी गरिरहेको छ।

दुवै कार इन्ट्री लेभल सेगमेन्टमा नयाँ सेफ्टी र इमिसन नर्म्समा आधारित हुनेछन्। यी कारको मूल्य भारु ५ लाखभन्दा कम हुने बताइएको छ।

कम्पनीको एउटा कार ८०० सीसी र अर्को कार १ लिटर इन्जिन अप्सनमा आउनेछ। मारुतीको हाल ८०० सीसी सेगमेन्टमा अल्टो र १ लिटर इन्जिनमा सेलेरियो बिक्री भइरहेको छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर केनिची याकुहावाका अनुसार ८०० सीसीका साथै अन्य थुप्रै मोडलका कारहरु निर्माण गर्ने विषयमा काम भइरहेको छ। यद्यपि उनले हाल ल्याउन लागिएको नयाँ कारका विषयमा भने कुनै खुलासा गरेनन्।

याकुहावाले कम मूल्यको कार निर्माणमा धेरै चुनौती रहेको बताए। ‘हामी नयाँ इमिसन नर्म्सका कारण बाँधिएका छौँ’, उनले भने, ‘जसका कारण कारको मूल्य १० प्रतिशतसम्म बढेको छ। यस्तोमा इन्ट्री लेभलको कार सस्तो मूल्यमा ल्याउन निकै चुनौती बनेको छ।’

त्यसो त हुन्डई मोटर्स र टाटा मोटर्सले इन्ट्री लेभलका कार निर्माण गर्न छाडिसकेका छन्। मिनी कारको मार्केट सेगमेन्ट घटिरहेको छ। 

यस्तोमा मारुती सुजुकीले आउँदा दुई–तीन वर्षसम्म वर्षेनी १० लाख युनिट इन्ट्री लेभलको कार बेच्ने लक्ष्य राखेको छ। कम्पनीले यही वर्ष एउटा इन्ट्री लेभलको कार लन्च गर्ने तयारी गरेको छ। अर्को इन्ट्री लेभलको कार भने अर्को वर्ष सन् २०२१ मा  लन्च हुने बताइएको छ। – एजेन्सी