काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा खुलेको ३ घन्टासम्म साढे १३ अर्बको हाराहारीमा कारोबार भइसकेको छ। 

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २२० कम्पनीका २ करोड ५३ लाख ६७ हजार १६७ कित्ता सेयर १३ अर्ब ४० करोड १५ लाख ८९ हजार २६५ रुपैयाँमा किनबेच भइसकेको छ। यतिबेलासम्म अपी पवार र अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४१ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। होटेल तथा पर्यटन समूह सर्वाधिक ४.५९ प्रतिशतले उकालो लागेको छ भने अन्य समूह ०.४९ प्रतिशतले ओरालो लागेको छ।

यो अवधिमा १० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा सीईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटेल, युनियन हाइड्रोपावर, एचआईडीसीएल, ओरियन्टल होटेल, सोल्टी होटेल, जोशी हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। रिडी हाइड्रोपावरको सेयरभाउ भने सर्वाधिक ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

अहिलेसम्म नेप्से परिसूचक ३८.५३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३०२१.६४ को विन्दुमा पुगेको छ।