काठमाण्डौ । कोभिड १९ को एकपछि अर्को महामारीका कारण डिजीटल कारोबार बुम भएसँगै यसको पायोनियरको रुपमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) मालामाल बनेको छ । अघिल्लो वर्षको लकडाउन र यो वर्षको निषेधाज्ञा लगायतका कारणले सर्वसाधारणहरु डिजीटल भुक्तानी तथा कारोबारमा केन्द्रीत हुँदा त्यसले एनसीएचएलको बिजिनेश चम्काइदिएको छ । यहीकारण यो कम्पनीले विगतमा कमाएको उच्च नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

वितरण गर्ने भनिएको घोषित लाभांशमध्ये ३८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि आवश्यक थप २ प्रतिशत नगद लाभांश रहेको छ । 

एनसीएचएलको आर्थिक वर्ष २०७६/७७ को आफ्नो नवौं वार्षिक साधारण सभा जेठ ५ गते बुधबार जुममार्फत सम्पन्न भएको छ । सभाले कम्पनीको चुक्तापूँजी रु. २९.८ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु. ४१.१ करोड पुर्याउने निर्णय गरेको छ । 

कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन गर्ने योजना पनि बनाएको छ । 

आ.व. २०७६/७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमाउल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा भने २२.२ ले घटेको दाबी गरिएको छ ।

त्यसैगरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा(रिटर्न अन क्यापिटल एम्प्लोइड) प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ । 

कम्पनीको खुद नाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका दाबी गरिएको छ । 

बैठकले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नुहुने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । 

हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै ती पदमा हिमालयन बैंक लिमीटेडका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंक लिमीटेडका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लिमीटेडका आइ.टि. प्रमुख सृजन मल्ल निर्वाीचत भएका छन् । 

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एकजना गरी हाल ६ जना रहेका छन् । 

कम्पनीले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस भुक्तानी प्रणालीहरुमार्फत आ.व. २०७६/७७ मा कुल ९७ खर्ब बराबरको २.०६ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ५८ गैर–बैंकिङ संस्थाहरु सदस्यहरुको रुपमा आबद्ध छन्।