काठमाण्डौ। महामारी रुप धारण गरेको ज्यानमारा कोरोनाभाइरसबाट बच्न अहिले विश्वमा मास्क र सेनिटाइजरको प्रयोग बढिरहेको छ।

मानिसबाट मानिसमा सर्ने यो भाइरसको संक्रमणबाट बच्नका लागि अहिले मानिसहरु नाकमुख छोप्न मास्क, आँखा छोप्न चस्मा र हातमा पन्जा लगाउन थालेका छन्। त्यस्तै सामाजिक दूरी पनि मानिसहरुले कायम गरिरहेका छन्।

यस्तैमा हङकङ युनिभर्सिटीको एउटा अध्ययनले अर्को तथ्य सार्वजनिक गरेको छ। जसअनुसार यो भाइरसबाट बच्न लगाइने साधारण वा सर्जिकल मास्कको बाहिर सतहमा यो भाइरस एक हप्तासम्म जीवित रहने अध्ययनबाट बाहिर आएको हो।

विशेषज्ञका अनुसार एन९५ मास्क जीवाणु वा भाइरसबाट सुरक्षा दिन निकै मद्दत मिल्छ। तर साधारण र सर्जिकल मास्क भाइरस फैलिनबाट रोक्न नसक्ने उनीहरुको भनाइ छ। यिनै कारणले एन९५ मास्कको बिक्री निकै भइरहेको छ। कतिपय देशमा यो मास्कको अभाव पनि भइरहेको छ।

एन९५ मास्कमा रहेका ६ लियर हुन्छ, जसले शूक्ष्म जीवाणु वा भाइरसलाई भित्र जान दिनबाट रोक्छ।

त्यसो त स्वस्थ मानिसले मास्क त्यतिखेरमात्र लगाउन आवश्यक हुन्छ जब आसपास कोही बिरामी रहेका हुन्छन्।

अध्ययनले यो भाइरस बैंक नोटमा र सिसाका वस्तुमा ४ दिनसम्म जीवित रहने देखाएको छ। त्यस्तै स्टिल, फलाम र प्लास्टिकमा पनि यो भाइरस ४ देखि ७ दिनसम्म जीवित रहने अध्ययनले निष्कार्ष निकालेको छ।

यसैगरी काठका सामग्री र दैनिक प्रयोगमा आउने कपडामा यो भाइरस पूरै एक दिन जीवित रहन सक्ने बताइएको छ।

अध्ययनले यो भाइरसलाई सजिलै मार्न सकिने निष्कर्ष पनि निकालेको छ। घरमा प्रयोग हुने कीटनाशक औषधि, ब्लिच वा साबुुनबाट यो भाइरस मारिन सक्ने अध्ययनले देखाएको छ। त्यसैले बाहिरबाट आउँदा पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न अध्ययनले सुझाएको छ। – एन्जेसी