काठमाण्डौ । बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयू हुने भनिएको मिति घर्किसक्दा समेत देखिने गरी कुनै काम नहुँदा अन्यौल बढेको छ । 

अघिल्लो साता नै यी दुई बैंकबीच मर्जरका लागि एमओयू हुने भनिएको थियो । तर, एकाएक एमओयू टरेको छ । यसको एउटा कारणको रुपमा हिमालयन बैंकका संचालक समितिका अध्यक्ष तुलसी गौतम बिरामी हुनुलाई भनिएको छ । तर, उनी बिसेक भएको निकै दिन बितिसक्दा समेत हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको वातावरण तयार हुन सकेको छैन । किन यस्तो भइरहेको छ ? भित्रभित्रै के पाकिरहेको छ ? कतै यी दुई बैंकबीच मर्जरको विषय हल्लामै मात्र सीमित हुने त होइन ? 

यी दुई बैंकले मर्जरको एमओयू गर्नुअघि नै डिडिए गराएका थिए । डिडिए रिपोर्टबाट दुवै बैंक बराबरी हैसियतको सेयर स्वाप कायम हुने गरी मर्जरमा जाँदा हुने देखिएको थियो । यही रिपोर्टमा आधारित रहेर नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समितिले हिमालयन बैंकसँग मर्जरमा जाने उद्देश्यले डिडिए रिपोर्ट पारित गरिसकेको छ । इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकको तुलनामा मर्जरमा जान अलिक बढी नै हतार गरिरहेको देखिन्छ । तर, हिमालयन बैंक भने अझै पनि ‘पर्ख र हेर’को रणनीतिमा देखिएको छ । हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापन अझै पनि केही विषयलाई अगाडि सारेर मर्जरको एमओयू गरिहाल्ने हतारोमा देखिदैनन् ।  

हिमालयन बैंकस्थित उच्च स्रोतका अनुसार डिडिए रिपोर्टको विषयलाई पारित गर्ने गरी बस्ने भनिएको संचालक समितिको बैठक अब चैतभित्र बस्ने संभावना न्यून छ । स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने पछिल्लो समय हिमालयन बैंक इन्भेष्टमेन्ट जस्तो मर्जरका लागि एमओयू गर्ने पक्षमा खुलिसकेको छैन । ‘अझै पनि हाम्रा केही रिजर्भेसनहरु छन् ।’ हिमालयन बैंकको संचालक समितिका एक सदस्यले बिजशालासँग भने–‘हामी ती विषयमा आन्तरिक रुपमा छलफल गरिरहेका छौं ।’ 

हिमालयन बैंकले पछिल्लो समय मर्जरपछि बन्ने बैंकको नाममै असहमति जनाएको बुझिएको छ । ‘इन्भेष्टमेन्ट बैंकसँग मर्जपछि बन्ने बैंकको नाम पनि हिमालयन बैंक नै हुनुपर्ने हाम्रो बटमलाइन हो ।’ ती संचालकले भने–‘वाणिज्य बैंकको नाममा पनि कहीँ इन्भेष्टमेन्ट जोडिएको हुन्छ ? यो त मर्चेन्ट बैंकको जस्तो नाम भयो । त्यसकारण अब बन्ने बैंकको नाम ‘हिमालयन बैंक’ नै हुनुपर्छ ।’ 

हिमालयन बैंकका संचालक र उच्च व्यवस्थापनले सुरुवातदेखि नै आरोप लगाउने गरेको विषय भनेको ‘नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थागत सुशासन निकै कमजोर रहेको छ’ भन्ने हो । ‘तोकआदेशको भरमै ठूला ठूला निर्णय हुने, ठूला लोनका फाइल पहिला पास गरेर पछि डकूमेन्ट खोजिने बैंकसँग मर्जर गर्दा उत्पन्न हुनसक्ने चुनौति, त्यस्तो वातावरणमा काम गरिरहेका कर्मचारीहरुको समायोजनमा आउनसक्ने चुनौति जस्ता विषयमा पनि हामी गम्भीर छौं ।’ हिमालयन बैंकका ती संचालकले आरोप लगाउँदै भने–‘यिनै विषयले समय लिने भएकोले तत्काल मर्जरका लागि एमओयू हुन नसकेको हो ।’ 

हिमालयन बैंकको उच्च व्यवस्थापन पनि इन्भेष्टमेन्ट बैंकको वर्किङ कल्चरबाट कर्मचारीहरुको समायोजन हुँदा सिनर्जी कसरी आउँछ भन्ने विषयमा गम्भीर रहेको एक उच्च अधिकारीले जानकारी दिए । ‘म तपाईलाई एउटा उदाहरण दिन्छु, हामीले कुनै बेला स्ट्याण्डर्ड चार्टर्डबाट केही कर्मचारीलाई लिएका थियौं ।’ ती अधिकारीले इन्भेष्टमेन्ट बैंकतर्फ संकेत गर्दै बिजशालासँग भने–‘झट्ट सुन्दा स्ट्याण्डर्ड चार्टर्डबाट आएका कर्मचारीले गजब्बै गर्छन भन्ने लाग्छ नि, तर होइन रहेछ । सो बैंकको नेपालस्थित शाखाका सबै निर्णय मुम्बईबाट हुँदो रहेछ । कर्मचारीहरुमा डिसीजन पावर नै नहुने । त्यस्ता कर्मचारीलाई लिएर के फाइदा हुन्छ, के सिनर्जी आउँछ ?’

यता, नेपाल इन्भेष्टमेन्ट बैंकका संचालक तथा उच्च व्यवस्थापनका अधिकारीहरु भने आफूहरुमाथि मिथ्या आरोप लगाएर हिमालयन बैंक मर्जरबाट भाग्न चाहिरेको दाबी गर्छन् । ‘हिमालयन बैंक पनि कसरी चलेको बैंक हो, सबैले बुझेकै छन् । राजसी ठाटले चल्दैमा बैंकमा संस्थागत सुशासन छ भन्ने पनि हुन्छ ?’ इन्भेष्टमेन्ट बैंकका एक उच्च अधिकारीले भने–‘हामीले हाम्रोतर्फको तयारी पूरा गरिसकेका छौं । मर्जरमा हिमालयन बैंकले नै ढिलाई गरिरहेको हो । उहाँहरुको स्वार्थ मर्जरबाट पूरा नहुने देखिएपछि यस्तो डिले भएको हुनुपर्छ ।’

इन्भेष्टमेन्ट बैंकका ती अधिकारीले हिमालयन मर्जरबाट भाग्न खोजिरहेको उल्लेख गर्दै राष्ट्रबैंकले चासो दिनुपर्ने बताउँछन् । ‘हाम्रो दुई बैंकबीच मर्जर हुँदा यो उद्योगकै उदाहरणीय हुनेछ, यसले अन्य बैंकलाई समेत मर्जरमा जान दवाब पर्नेछ ।’ ती अधिकारीले भने–‘हामी दुईबीच मर्जर हुन सके राष्ट्रबैंकको बैंकको संख्या घटाउने रणनीति पनि सफल हुन्छ । थोरै संख्याका बैंकबीच स्वस्थ प्रतिस्पर्धा हुने राम्रो वातावरण तयार हुन्छ ।’

पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको संभावित मर्जरलाई अन्य ठूला बैंकले पनि चासोका साथ हेरिरहेको छ । नवील बैंक एक वाणिज्य बैंक र एक फाइनान्ससँग एकैपटक एमओयू गर्ने साइत कुरेर बसिरहेको छ भने एनआइसी एशिया, एनएमबीजस्ता बैंकहरु पनि आ–आफ्नो रणनीतिका साथ अगाडि बढ्ने तयारीमा छन् । हिमालयन र इन्भेष्टमेन्टबीच मर्जरको एमओयू हुनेबित्तिकै केही ठूला बैंकहरु पनि आपसमा मर्ज हुने अवस्थामा छन् । ती सबैले इन्भेष्टमेन्ट र हिमालयनको संभावित मर्जरलाई कुरेर बसेका छन् । तर, मर्जरमा जानुपर्ने हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भने भित्रभित्रै खटपट सुरु भएको हो कि भन्ने आशंका गर्ने प्रशस्त आधारहरु बाहिरिएका छन् ।