काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३०.०८ प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले १४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ११ करोड २९ लाख रुपैयाँ थियो । यो हिसाबले बैंक अघिल्लो वर्षको तुलनामा खुदा नाफा ३ करोड ३९ लाख रुपैयाँले बढाउन सफल भएको छ ।

बैंकको खुद ब्याज आम्दानी २७ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २० करोड ६३ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ५ करोड ४३ लाख रुपैयाँले बढेर २३ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा १७ करोड ७५ लाख रुपैयाँ थियो ।

बैंकले रिजर्बको आकार १७ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ५० करोड रुपैयाँ रिजर्बको आकारलाई बढाएर बैंकले ५८ करोड ५० लाख रुपैयाँ पुर्याएको हो ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८ करोड ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५८ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २४.९७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा शून्य प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ५ प्रतिशत रहेको थियो ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १९.९ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ९.४९ प्रतिशत र सीडी रेसियो ७१.६ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई १३.३६ प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.३७ गुणा कायम भएको छ ।