काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा एक्वीजिसनलाई स्वेच्छिक बनाएको छ । मर्जरमा जान चाहनेका लागि केही प्याकेजहरु समेत घोषणा गरिएको छ । 

नेपाल राष्ट्रबैंकले विगत लामो समयदेखि वाणिज्य बैंकहरुको संख्या घटाउने उद्देश्यले मर्जरको नीतिलाई लगातार प्राथमिकतामा राखिरहेको छ । तर, वाणिज्य बैंकको संख्या घट्नुको साटो ठूला बैंकले सानो बैंकलाई प्राप्ति गर्ने क्रम चाहि बढेर गएको देखिन्छ । यो क्रममा क्षेत्रीय स्तरका राम्रो बैंक तथा वित्तीय संस्थाहरुको भाउ समेत बढेर गएको छ । 

यही क्रममा प्रदेश नम्बर १ को राम्रो बैंकको रुपमा स्थापित मितेरी डेभलपमेन्ट बैंकमाथि अहिले धेरै वाणिज्य बैंकहरुले आँखा लगाएका छन् । तर, मितेरी बैंक भने आफ्नो भाउ कस्दै कोहीसँग पनि मर्जरमा जाने ठोस निर्णयमा पुग्न सकेको छैन । 

मितेरी बैंकले एक वर्षअघिसम्म राम्रो खालको प्रादेशिक बैंक नै बन्ने रणनीति लिएको थियो । क्षेत्रीय स्तरको बैंक भएर पनि राम्रो वासलात तयार गरेका कारण विभिन्न ठूला बैंकहरुले मितेरीका संचालकहरुलाई मर्जरको प्रस्ताव एकपछि अर्को गर्दै पठाउँदै गए । लामो समयसम्म पनि यस्ता प्रस्ताव आएपछि मितेरीको संचालक समितिले पछिल्लो समय एक वर्षअघिको रणनीतिबाट केही पछि हट्दै राम्रो मूल्य पाए ठूलै संस्थासँग बिलय हुने रणनीति पुगेको हो । यही रणनीति बुझेका वाणिज्य बैंकहरुले मितेरीलाई आफूमा बिलय गराउने क्रमलाई तीव्रता दिएका छन् । 

मितेरी बैंकका सुनसरी, मोरङ र झापामा गरी १७ वटा शाखा रहेका छन् । प्रदेश १ का मुख्य रुपमा आर्थिक गतिविधि हुने तीनवटा जिल्लामा राम्रो उपस्थिति रहेका कारण यो क्षेत्रमा कमजोर रहेका बैंकहरुले मितेरीमाथि आँखा लगाउने गरेका छन् । 

शाखा सञ्जाललाई छाडेर मितेरीको वासलाततर्फ ध्यान दिनेको संख्या समेत निकै छ । 

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार मितेरीको खराब कर्जा अत्यन्त न्यून ०.२० प्रतिशत मात्र रहेको छ । 

सो अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी  २३.२३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १४.२९ प्रतिशत, प्रतिसेयर नेटवर्ट १३७.९६ रुपैयाँ, पूँजीकोष अनुपात २१.३४ प्रतिशत रहेको छ । 

यो बैंकको चुक्तापूँजी ६९ करोड ३३ लाख रुपैयाँ रहेको छ । यो बैंकले तेश्रो त्रैमाससम्म ४ अर्ब ९५ करोड निक्षेप संकलन गरी ४ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । यो बैंकको जगेडाकोषमा २० करोड रुपैयाँ रहेको छ । 

तेश्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । चौथो त्रैमाससम्म पनि यो रफ्तार कायमै रहेमा मितेरीले १२ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको देखिन्छ । 

वित्तीय सूचकतर्फको प्रगति औसत देखिए पनि सेयर लगानीकर्ताहरुमा भने मितेरीप्रतिको विश्वास केही बढी देखिन्छ । यसले समेत मितेरीका संचालकहरुलाई आवश्यकताभन्दा बढी उत्साहित बनाएको हुनसक्ने वाणिज्य बैंकका संचालकहरु बताउँछन् । दोश्रो बजारमा मितेरीको प्रतिकित्ता मूल्य ३३१ रुपैयाँ पुगिसकेको छ । जबकि धेरै वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता ३०० भन्दा तल छ। 

मितेरीको शर्त
हालसम्म आधादर्जन बढी वाणिज्य बैंकहरुले मितेरीलाई प्राप्तिको प्रस्ताव गरिसकेका छन् । तर, मितेरी भने मौका कुर्दै बसिरहेको छ । 

हरेक वाणिज्य बैंकले प्रस्ताव गर्दा मितेरीका संचालकहरुले बढी नै उत्साहित भएर १ः१ को सेयर अनुपात माग्ने गरेका छन् । कमजोर वाणिज्य बैंकहरुका लागि यो विषय सोचनीय बन्ला, तर सबै खालका वाणिज्य बैंकसँग यही प्रस्ताव गर्ने गरेका कारण मितेरीसँगको कुरा अगाडि बढ्न सक्दैन । 

मितेरीसँग कुनै वाणिज्य बैंकले ‘डिडिए रिपोर्टलाई आधारमा मानेर अगाडि बढौं’ भन्दा पनि मितेरीका संचालक सहमत हुँदैनन् । ‘उहाँहरुले आफ्नो सम्पत्तिको मूल्य बिनाकारण बढोस् भन्ने चाहनुहुन्छ । जुन संभव छैन ।’ एक वाणिज्य बैंकका सीइओले बिजशालासँग भने–‘डिडिए रिपोर्टलाई मान्नुपर्छ अनि मात्र कुरा मिल्छ । बिनाआधार कसैलाई बराबर सेयर स्वाप अनुपात दिने भन्ने कुरै आउँदैन ।’ 

पछिल्लो समय मितेरी डेभलपमेन्ट बैंकलाई एनआइसी एशिया बैंकले समेत प्राप्तिको प्रस्ताव गरेको स्रोत दाबी गर्छ । तर, एनआइसी एशियालाई समेत मितेरीले १ः१ को सेयर स्वाप अनुपातमा मात्र आफूहरु मर्जर हुन तयार भएको सन्देश पठायो । एनआइसी एशियाका संचालकहरु पनि डिडिए रिपोर्टका आधारमा अगाडि बढौं भन्ने चाहिरहेका स्रोत बताउँछ । 

यसैगरी, केही समयअघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलले पनि मितेरीसँग अक्वायरको प्रस्ताव गरेको थियो । यो प्रस्ताव दोश्रोपटक गरिएको थियो । यसपटक पनि मितेरीका संचालकहरुले डिडिएबाट निस्किने सेयर स्वाप अनुपात भन्दा सुरुमै १ः१ को अनुपात पाए मात्र गाभिन तयार रहेको सन्देश दिए । 

यो बीचमा सनराइज बैंकले समेत मितेरीलाई मर्जरको प्रस्ताव पठाएको थियो । सनराइजलाई पनि मितेरीले १ः१ सेयर स्वापकै प्रस्ताव पठायो । सिर्जना फाइनान्ससँग मर्जर भाँडिने अवस्था बनेपछि सनराइजले पनि मितेरीसँग कुराकानी गरेको थियो । हाल भाँडिइसकेको सिर्जनालाई सनराइजले अक्वायर गर्ने विषयमा पुनः कुरा मिलेर अन्तिम अवस्थामा पुगेको बताइएको छ । 

सीइओको छुट्टै शर्त
यसैबीच, मितेरीका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीका आफ्नै शर्त छन् । उनले मितेरी बैंकमा कार्यरत १०० कर्मचारीमध्ये कसैको पनि जागिर खोस्न नपाइने शर्त मर्जर प्रस्ताव लिएर पुग्ने बैंकहरुको अगाडि राख्ने गरेका छन् । उनले आफ्नो समेत उचित व्यवस्थापन हुनुपर्ने विषय उठाउने गरेका छन् । आफूसँग असिस्टेन्ट लेभलमा दशजोड दुई पास गरेका कर्मचारी मात्र रहेका, तर मर्जरमा जाँदा ती कसैको पनि जागिर जान नहुने उनको छुट्टै तर्क छ ।