काठमाण्डौ । धनुषाको ढल्केवरमा रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । 

संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष प्रस्तावहरु पारित गरेको छ ।

वौवा होटल लालगढ, धनुषामा भएको १३ औं साधारण सभाले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 

त्यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिका क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने र भविष्यमा अन्य उपयुक्त लघुवित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्वन्धित आबश्यक सम्पूर्ण काम कारवाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै यस सभाले हाल कायम रहेको जारी पूँजीको ६० (प्रतिशत) संस्थापक शेयरधनी समूहको र ४०(प्रतिशत) सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व रहेकोमा सो संरचना ५१(प्रतिशत) संस्थापक शेयरधनी समूहको र ४९(प्रतिशत) सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने सम्बन्धी पनि प्रस्ताव पारित गरेको छ । 

प्रादेशिक स्तरको वित्तीय संस्थाको हाल चुक्तापुँजी प्रस्तावित लाभांशसहित १७ करोड ०४ लाख ३७ हजार १७८ पुगेको छ भने यो संस्थाले प्रदेश नम्बर २ का आठ जिल्लामा ४४ शाखामार्फत १ अर्व ९० करोड कर्जा लगानी र ५७ करोड बचत परिचालन गरेको छ ।