काठमाण्डौ । जापानमा नेपाली तथा विदेशीहरुका लागि सञ्चालन गरिएको मिराई लाइफ इन्स्योरेन्सले २० जना नेपालीलाई कोरोना बीमा दाबी भुक्तानी गरेको छ।

मिराई लाइफ इन्स्योरेन्सले बढ्दो कोरोना संक्रमणमा परेका जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीलाई कोरोना बीमा दाबी भुक्तानी गर्दै आएको छ। जसअनुसार गत अगस्ट महिनामा मात्र २० जना नेपालीलाई कोरोना बीमा दाबी भुक्तानी गरिएको मिराई लाइफ इन्सोरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिए। प्रतिव्यक्ति करिब ७० हजार येनदेखि २ लाख येनसम्म दाबी भुक्तानी गरिएको उनले बताए। 

गत अगस्टमा मात्र मिराई लाइफले २४ लाख २० हजार येन रकम सुविधाबापत भुक्तानी गरेको छ। जसमा ८ जनाले बेसिकतर्फ ७ लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन रकम कम्पनीले भुक्तानी गरेको छ। 

करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरु भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ। हालसम्म बीमा सुविधा दाबी गर्नेहरुमा ८० प्रतिशत कोरोना संक्रमित छन् भने बाँकी अस्पताल भर्ना भएका तथा अप्रेसन गरेकाहरु छन्। 

यता सेप्टेम्बर महिना लागेसँगै करिब ९ जनाले कोरोना संक्रमण भएको जानकारी गराउदै बीमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन्।

मिराई लाइफ इन्स्योरेन्सले जापानमा सबैभन्दा धेरै खर्च हुने स्वास्थ्य जोखिमजस्तै अस्पताल भर्ना हँुदा दैनिक १० हजार (एक मान) येन, कुनै पनि अप्रेसनको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्जपछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ।

यस्तै कम्पनीले मृत्यु दाबी भुक्तानीअन्तर्गत २० लाख (२०० मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ। 

यसैगरी कोरोना संक्रमितहरुका लागि पनि अस्पतालमा भर्ना भएसरहको सुविधा प्रदान गर्ने गरेको छ।

जापानमा ‘कसैको नाममा ‘चन्दा’ रकम संकलन गर्नुपर्दैन’ अभियान

यसैबीच मिराई लाइफ इन्स्योरेन्सले जापानमा रहने कसैको नाममा चन्दा उठाउनु नपर्ने सुविधा ल्याएको दाबी गरेको छ।

लामो समय अस्पताल भर्ना हुनुपर्दा तथा मृत्युवरण हुँदाको अवस्थामा जापानमा चन्दा रकम संकलन गरेर सहयोग गर्ने परिपाटी अन्त्य गर्ने योजनाअनुरुप ‘अब तपाइँको नाममा चन्दा रकम संकलन गर्नुपर्दैन अभियान’ सुरु गर्न लागेको छ।

मिराई लाइफका व्यवस्थापक ऋद्दी बहादुर तुम्बाहाङफेका अनुसार जापानवासी नेपालीमा मृत्युवरण गर्दा आर्थिक बीमा सुविधा पाइने बीमा तथा कोरोनाजस्ता महामारीको समयमा पाइने सुविधासहितको बीमा गर्न अपिल गरिएको छ। विभिन्न माध्यममार्फत जापानवासी नेपाली तथा अन्य विदेशीका लागि सो सुविधा उपलब्ध रहेको उनले जानकारी दिए। 

मिराई लाइफको बीमा सुविधामा आबद्ध हुन मिराई लाइफको मोबाइल एप्लिकेसन डाउनलोड गरेर आबद्ध हुन सकिने कम्पनीले जनाएको छ।