काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुका लागि व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुरस्थित होटेल अतिथिमा सम्पन्न भएको छ। 

बोनिया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रकाश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यसँगै बौनिया ब्लक स्टेसन प्रमुख सुरेश खड्का, तुल्सीपुर ब्लक स्टेशन प्रमुख भीमबहादुर साउद तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालगन्जका शाखा प्रमुख सुशिल घिमिरेले सहभागीहरुलाई सहजीकरण गरेका थिए। तालिममा सहभागीहरुलाई व्यवसाय प्रवर्द्धन, कम्प्युटर लेखा प्रणाली, कर्मचारीहरुको कामकर्तव्य अधिकारलगायतका विषयहरुमा सहजीकरण गरिएको हो। 

मिर्मिरेले साउन महिनाभरिमा आफ्नो १४८ वटा शाखाका शाखा प्रमुखहरु तथा अनुगमन प्रमुखहरुलाई बर्दिवास, झापा, चितवन, धुलिखेल, अमरगढी, कैलालीलगायत स्थानहरुमा व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको हो।

संस्थाले कर्मचारीहरुलाई दक्ष बनाउन तथा संस्थाको लक्ष्य हासिलका लागि साउन महिनाभरिमा विभिन्न ठाउँमा तालिम कार्यक्रम राखेर सबै शाखा प्रमुख तथा अनुगमन प्रमुखहरुलाई प्रशिक्षण गरिएको संस्थाका कार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।