काठमाण्डौ। काभ्रे बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफ्नो ११ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ। 

संस्थाका अध्यक्ष टेकबहादुर बोहराले केन्द्रीय कार्यालयमा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेका थिए। उक्त अवसरमा बोहराले सम्पूर्ण सरोकारी निकाय, नियमन निकाय, सेयरधनी, संस्थामा आबद्ध सदस्य तथा कर्मचारीलाई धन्यवाद दिए। 

वार्षिकोत्सवकै अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राँगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा स्थानीय, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा संस्थाकै कर्मचारीले रक्तदान गरेका थिए। 

पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पूर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाकी प्राविधिक राधा थापाले बताइन्।