काठमाण्डौ । तीनवटा माइक्रोफाइनान्स कम्पनीले मर्जरको सम्झौता गरेका छन्। 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड,  नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेड र किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको हो । 

उत्कृष्ट लेभलको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बन्ने उद्देश्यले नेप्सेमा सूचिकृत यी तीन कम्पनीबीच मर्जर सम्झौता भएको हो । 

तीनै कम्पनीका संचालक समितिका अध्यक्षले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड, नागबेली र किसान माइक्रोफाइनान्स एकआपसगाभिने विषयमा सम्झौता भएको प्रष्ट पारेका छन्। 

एक्वीजिसन सम्बन्धी सम्झौतामा मिर्मिरेको तर्फबाट संचालक समितिका अध्यक्ष टेकबहादुर बोहोरा, नागबेलीको तर्फबाट संचालक समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठ र किसान माइक्रोफाइनान्सको तर्फबाट अध्यक्ष नेत्रप्रसाद जोशीले हस्ताक्षर गरेका छन् । 

मर्जरलाई सफल बनाउन सन्तोष फूयाँलको संयोजकत्वमा सञ्जयकुमार श्रेष्ठ र खिमाराज न्यौपानेसहितको ३ सदस्यीय मर्जर समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । 

तीनैवटा संस्थाले आगामी नियमित तथा विशेष साधारणसभाबाट मर्जर सम्बन्धी सम्झौतालाई अनुमोदन गर्नेछन् ।

मर्जरपछि एकीकृत संस्थाको केन्द्रीय कार्यालय हाल मिर्मिरे लघुवित्तको काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडानम्बर ८ मा रहेको केन्द्रीय कार्यालयमै रहेनछ भने मर्जरपछि थप संस्था समेत एक्वीजिसन गरी १ अर्ब पूँजी पुर्याउने र त्यसपछि एकीकृत संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौमा सार्ने सहमति समेत भएको छ। 

मर्जरपछि संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमीटेड रहने र एकीकृत संस्थाको लोगो र डिजाइन चाहि हाल मिर्मिरेकै कायम गरिनेछ ।

मर्जरपछि बन्ने एकीकृत संस्थाको संचालक समितिको अध्यक्ष मिर्मिरेका  अध्यक्ष टेकबहादुर बोहोरा नै हुने समेत सम्झौतामा उल्लेख छ । 

मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत नागेबलीका हालका सीइओ कुमार याक्सो हुनेछन् भने नायव प्रमुख कार्यकारी अधिकृतमा स्थायी सेवा रहने गरी मिर्मिरेका हालका सीइओ बिर्खबहादुर बोहोरा नियुक्त हुनेछन् ।

सेयर स्वाप रेसियो डिडिए रिपोर्टले कायम गरेअनुसार हुनेमा तीनै पक्ष सहमत भएको छ भने तीनवटै संस्थाबाट २ जनाको दरले ६ जनाको संचालक समिति समेत बनाउने सहमति भएको छ । 

प्रस्तावित संचालकहरुमा मिर्मिरेबाट टेकबहादुर बोहोरा र सन्तोष फूयाँल, नागबेलीबाट दीपबहादुर श्रेष्ठ र रचना शर्मा तथा किसानबाट नेत्रप्रसाद जोशी र विनोद आचार्य रहने समेत सम्झौतामा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट तीनै पक्षले पारित गरे बमोजिम बोनस सेयर तीनै पक्षको सेयरपूँजीमा समावेश गर्ने सहमति समेत भएको छ। 

यसैबीच, तीनवटै संस्थाले मर्जरको सम्झौतामा साधारणसभाबाट पारित भई राष्ट्रबैंकमा स्वीकृतिका लागि अगाडि बढिसकेको हकप्रदलाई हालका लागि स्थगित गर्ने निर्णय समेत गरेका छन् । मिर्मिरेले ५० प्रतिशत, नागबेलीले २५ र किसान माइक्रोफाइनान्सले १०० प्रतिशत हकप्रद आ-आफ्नो साधारणसभाबाट पारित गरी केन्द्रीय बैंकमा पठाइसकेका थिए । तर, अब केन्द्रीय बैंकमा स्वीकृतिका लागि पुगिसकेको यो प्रस्ताव स्थगित गरिएको छ । 

यसले हकप्रदकै लोभमा कम्पनीको सेयर किनेर सेयरधनी भएकाहरु बढी घाटामा पर्नेछन् । 

यी ती कम्पनीबीच केन्द्रीय बैंक पुगिसकेको हकप्रदलाई स्थगित गरी एकीकृत संस्था बनिसकेपछि फेरि नयाँ ढंगले हकप्रद प्रस्ताव गर्ने सहमति बनेको छ । मर्जरको काम सकिन कम्तीमा पनि ६ महिना लाग्नेछ । सो अवधिसम्म तीनै संस्थाको हकप्रदमा लोभिएर लगानी गर्नेहरु जिल्ल पर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

मर्जर सम्झौतामा भनिएको छ–‘एकीकृत संस्था भएपश्चात एकीकृत साधारणसभाको निर्णयअनुसार  हकप्रद सेयर निश्कासन गर्ने सहमति गरियो ।’